क्यूबाका फिडेल काष्ट्रोको निधनमा विश्व प्रतिक्रिया

  • 26 नोभेम्बर 2016
फिडेल काष्ट्रो तस्वीर कपीराइट AFP
Image caption नब्बे वर्षको उमेरनमा दिवंगत क्युबाली नेता फिडेल काष्ट्रोप्रति विभिन्न प्रतिक्रिया व्यक्त भएका छन्

नब्बे वर्षको उमेरमा दिवंगत भएका क्युबाका पूर्व राष्ट्रपति फिडेल काष्ट्रोप्रति विश्वभरका कैयौं नेताबाट सम्मान प्रकट भएको छ।

चिनिया राष्ट्रपति सि जिनपीङले भनेका छन्- चिनिया जनताले एकजना सच्चा मित्र गुमाएका छन्।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले फीडेल काष्ट्रोलाई 'युगका प्रतीक' र रुसका 'वास्तविक र विश्वशनीय' मित्र भनेका छन्।

क्युबाको मुख्य समर्थक राष्ट्र भेनेजुयलाका राष्ट्रपति निकोलास मदुरोले उनको देशमा फिडेल काष्ट्रोको विरासत निरन्तर राखेर उनले स्थापना गरेको स्वतन्त्रताको झण्डा बोकिरहनुपर्ने बताएका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले काष्ट्रोलाई बीसौं शताब्दीका एक विशिष्ट व्यक्तित्व भनेका छन्।

तत्काल सम्मान

दक्षिण अफ्रिकाका राष्ट्रपति ज्याकोब जुमाले काष्ट्रो विश्वभरका शोषित पिडितहरुको स्वतन्त्रताको पक्षमा उभिएका थिए भनेका छन्।

काष्ट्रोको निधन पछि दक्षिण अमेरिकी नेताहरुले तत्कालै सम्मान व्यक्त गरेका थिए।

मेक्सिकोका राष्ट्रपति एनरिका पेन्या निएटोले भने- काष्ट्रो मेक्सिकोका ठूलो मित्र थिए।

एल साल्भोडरका राष्ट्रपति साल्भाडोर सानचेस सेरेनले काष्ट्रो 'जीवन्त मित्र' थिए भनेका छन्।

तस्वीर कपीराइट AFP
Image caption रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले फीडेल काष्ट्रोलाई रुसका 'वास्तविक र विश्वशनीय' मित्र भनेका छन्

सोभियत युनियनका अन्तिम नेता मिखायल गोर्व्याचोभले भने- कडा अमेरिकी नाकाबन्दीका बेला फिडेलले डटेर आफ्नो देशलाई बलियो बनाएका थिए।

'खराब सर्वसत्तावादी सत्ता'

फ्रान्सका राष्ट्रपति फ्राँस्वाँ ओलाण्डले क्युबाले आशा र निराशाका दुवै बेलामा क्युबामा क्रान्ति गरेको बताए।

ठूलो क्युबाली समुह बसोबास गर्ने संयुक्त राज्य अमेरिकाको मायामीका केही भागमा मानिसहरु उत्सव मनाइरहेका छन्।

एउटा क्युवाली निर्वासित समुह क्युबन डेमोक्रेटिक डाइरेक्टोरेटले "काष्ट्रोले 'असहिंष्णुताको विरासत' छोडेको र 'खराब सर्वसत्तावादी सत्ता' स्थापना गरेको" बताएको छ।