‘साग गेम्स एक वर्ष ढिलो हुने’

  • 3 डिसेम्बर 2016
नेपाल
Image caption नेपाल ओलिम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ तयारीका निम्ति थप समय चाहिएकोले प्रतियोगिता पर धकेलिएको बताउँछन्।

१३ औं दक्षिण एसियाली खेलकुद साग गेम्स पूर्वनिर्धारित समयभन्दा एक वर्ष ढिलो हुने भएको छ।

नयाँ कार्यतालिका अनुसार अब उक्त प्रतियोगिता सन् २०१९ को मार्च ९ देखि १८ तारिखसम्म काठमाण्डूमा हुने नेपाल ओलिम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले बताए।

उनका अनुसार सन् २०१८ मा आयोजना गर्ने जिम्मा लिएको नेपालले भूकम्पका कारण देशको मुख्य खेल पूर्वाधारहरु क्षतिग्रस्त भएकाले प्रतियोगिताको समय एक वर्ष पर धकेलिएको हो।

नेपाल, बंगलादेश, श्रीलंका, पाकिस्तान र भुटानका प्रतिनिधिहरु उपस्थित दक्षिण एसियाली ओलम्पिक काउन्सिलको ललितपुर सातदोबाटोमा शनिबार बसेको बैठकले उक्त निर्णय गरेको हो।

सहभागिता

त्यसैगरी बैठकले प्रतियोगितामा कम्तीमा २० र बढीमा २३ खेलमा सहभागिता गराउने निर्णय पनि गरेको छ।

त्यसमा आयोजक राष्ट्रले चाहेको दुई खेल थप्न सक्ने छ, जसअनुसार अबदेखि साग खेलकुदमा घटीमा २२ र बढीमा २५ खेल समावेश हुनेछ।

बैठकमा भारत, माल्दिभ्स र अफगानिस्तानका प्रतिनिधिहरु अनुपस्थित रहेको बताइएको छ।

अफगानिस्तानले दक्षिण एसिया त्यागेर सेन्ट्रल एसियाको सदस्यता लिएकोले अबको संस्करणबाट साग गेम्समा अफगानिस्तान रहनेछैन।

यद्यपि यसको औपचारिता पुर्याउन भने बाँकी छ।

"सबै कुरा छलफलमा भएकोले यो निर्णयमा सबैको सहमति छ," बैठकपछि नेपाल ओलिम्पिक कमिटीका अध्यक्ष श्रेष्ठले भने।

उनले थपे, "यसमा नेपाल सरकारको साथ र सहमति त हुने नै भयो।"

बैठकको उद्घाटन सत्रमा युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले साग गेम्स आयोजनाको निम्ति सरकारले आवश्यक बजेट उपलब्ध हुने वचन दिएका थिए।

इतिहास

प्रत्येक दुई वर्षमा आयोजना गरिने भएपनि साग गेम्सका पछिल्ला संस्करणहरु निर्धारित समयमा हुने गरेको इतिहास छैन।

त्यसैले आयोजनाको कार्यप्रगति बुझ्नका निम्ति छुट्टै समिति बनाउने निर्णय पनि बैठकले गरेको छ।

बैठकले दक्षिण एसियाली ‌ओलिम्पिक काउन्सिलको मुख्यालय नेपालमा स्थायी रुपमा राख्ने निर्णय पनि गरेको छ।

त्यसको अध्यक्षमा नेपालका अध्यक्ष श्रेष्ठ र महासचिवमा नेपाल ओलिम्पिक कमिटीका महासचिव रहने निर्णय पनि शनिबारको बैठकले गरेको छ।

साग गेम्सको आयोजक राष्ट्र नै दक्षिण एसियाली ओलिम्पिक काउन्सिलको अध्यक्ष र महासचिव हुने नियम छ।

नेपालले साग गेम्सको आयोजना गर्न लागेको यो तेस्रोपटक हो।

यसअघि सन् १९८४ मा पहिलो र १९९९ मा आठौं संस्करण काठमाण्डूमा भएको थियो।