'भारतीय राजदूत फिर्ता जाऊ'

  • 5 डिसेम्बर 2016
Image caption एमाले निकट विद्यार्थीसहित संयुक्त युवा-विद्यार्थी आन्दोलनमा आवद्ध युवा प्रदर्शनकारीले भारतीय "हस्तक्षेप" विरोधी नारा लगाएका थिए।

प्रमुख प्रतिपक्षी नेकपा-एमाले निकट विद्यार्थीसहितका युवाले सोमबार काठमाण्डूस्थित भारतीय राजदूतावास अगाडि संयुक्त प्रदर्शन गर्दै नेपालस्थित भारतीय राजदूत फिर्ता जानुपर्ने माग गरेका छन्।

भारतीय दूतावास घेराउ गर्न गएका संयुक्त युवा-विद्यार्थी आन्दोलनमा आबद्ध युवाहरुले नेपालको आन्तरिक मामिलामा भारतले हस्तक्षेप गरेको भन्दै विरोध गरेका थिए।

संविधान संशोधन प्रस्तावको खरो विरोध गरिरहेको प्रमुख प्रतिपक्षी नेकपा एमालेले संविधान संशोधन प्रस्तावविरुद्धको आन्दोलनलाई थप चर्काउने निर्णय गरेको छ।

तराई-केन्द्रित दलहरुको दबाबमाझ सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन विधेयकको विरोधमा चर्किएका स्वर सोमबार लैनचौरस्थित भारतीय राजदूतावासबाहिर पनि सुनिए।

कालो तुल

प्रहरीको बाक्लो उपस्थितिबीच संयुक्त युवा-विद्यार्थी आन्दोलनमा आवद्ध युवा प्रदर्शनकारीले "भारतीय विस्तारवाद" र भारतीय राजदूतको विरोधमा नारा लेखिएको एउटा कालो तुल बोकेका थिए।

त्यहाँ सहभागी नेकपा एमालेसम्बद्ध विद्यार्थी संगठन अनेरास्ववीयुका सचिव आर.सी. लामिछानेले संविधान संशोधनका विषयमा भारतीय राजदूतले हस्तक्षेप गर्न खोजेकोले आफूहरु दूतावास घेराउ गर्न बाध्य भएको बताए।

उनले भने, "कूटनीतिक मर्यादा विपरीत भारतीय राजदूतले 'मधेसवादी' दलका नेताहरुलाई बोलाएर 'संविधान संशोधनलाई समर्थन गर' भन्ने जस्ता उर्दी जारी गर्ने काम गरेका छन्। हामीले त्यसविरुद्ध खबरदारी गरेका हौं।"

आइतबार भारतीय विदेश मन्त्रालयले नेपालको संसदमा दर्ता गरिएको संविधान संशोधन विधेयकलाई एक महत्वपूर्ण कदम भन्दै नेपालका सबै पक्ष त्यो प्रक्रियामा सहभागी हुने र जारी प्रयास सफलतापूर्वक निश्कर्षमा पुग्ने आशा व्यक्त गरेको थियो।

संविधान संशोधन प्रस्तावको विरोधमा संसद अवरुद्ध गर्दै आएको प्रतिपक्षी नेकपा एमालेका एक नेताले चाहिँ भारतीय राजदूतावास अगाडिको प्रदर्शन आफ्नो दलको निर्देशनमा नभएको बताए।

'देशव्यापी'

नेकपा एमालेका केन्द्रीय सचिव प्रदिप ज्ञावालीका अनुसार संविधान संशोधन प्रस्तावको विरोधमा स्वतस्फूर्त रुपमा अभिव्यक्त भइरहेका विरोधका स्वरलाई एकताबद्ध गर्दै आन्दोलनलाई देशव्यापी रुपमा अघि बढाउने निर्णय सोमबारको स्थायी समितिको बैठकले गरेको छ।

स्थायी समितिको बैठकपछि नेकपा एमालेले एक प्रेस विज्ञप्तिमार्फत संसदमा दर्ता गरिएको संविधान संशोधन विधेयक फिर्ता गरी संवाद र सहमतिमार्फत समस्याको हल गर्न आफ्नो दल तयार रहेको बताएको छ।

कुनै देशको नाम नलिइकनै नेकपा एमालेले नेपालका आन्तरिक विषयहरुमा अनावश्यक चासो राख्दै आन्तरिक मामिलामा पक्षधरता देखाउने तथा हस्तक्षेत्र गर्ने कुनै पनि काम नगर्न अन्तर्राष्ट्रिय मित्रहरुलाई आग्रह गरेको छ।