'रुसका एक हजार खेलाडी डोपिङ्मा दोषी'

  • 9 डिसेम्बर 2016
रिचर्ड म्याकलरेन
Image caption अधिवक्ता रिचर्ड म्याकलरेनले रुसी खेलाडीहरुको डोपिङ संलग्नता निकै भयावह रहेको बताएका छन्।

ओलिम्पिकका पदक विजेतासहित एक हजारभन्दा बढी रुसी खेलाडीले प्रतिवन्धित औषधि लिन राज्यले नै प्रोत्साहित गरेको संस्थागत कार्यक्रमबाट फाइदा लिएको एउटा नयां प्रतिवेदनले दावी गरेको छ।

फुटबलसहितका कम्तीमा ३० वटा विधाका खेलाडीहरुको प्रतिवन्धित औषधि प्रयोगसम्बन्धी विवरण लुकाइएको प्रतिवेदनमा जनाइएको छ।

खेलकुदमा प्रतिवन्धित औषधि प्रयोगविरुद्धको निकाय वाडाले रुसी खेलाडीसंग सम्बन्धित विवादबारे छानविन गर्न अधिवक्ता रिचर्ड म्याकलरेनलाई जिम्मा दिएको थियो।

उनले रुसी सरकारी निकायहरुले स्टेरोयडहरुको मिश्रण प्रयोग गरेको थाहा नपाउने गरी संस्थागत रुपमा रणनीतिहरु अपनाएको विश्वासिलो प्रमाणहरु भेटिएको बताए।

षडयन्त्र

उनले आफ्नो प्रतिवेदनमा रुसले पदक जित्नका लागि त्यस्तो षड्यन्त्र गरेको आरोप लगाएका छन्।

उनले सन् २०१२ मा लण्डनमा भएको ओलिम्पिक्सलाई रुसी टोलीले अविश्वसनीय तहमा भ्रष्ट बनाएको टिप्पणी गरे।

सन् २०१३ मा मस्कोमा भएको वर्ल्ड च्याम्पियशिप्स र २०१४ मा सोचीमा भएको शीतकालीन ओलिम्पिक्समा पदक जितेका खेलाडीहरुले पनि प्रतिवन्धित औषधि प्रयोग गरेको पाइएको प्रतिवेदनमा उल्लेख गरिएको छ।

लण्डन ओलिम्पिक्समा रुसले ७२ वटा पदक जितेको थियो जसमध्ये २१ वटा स्वर्ण थिए।

सोचीमा भने रुसले ३३ वटा पदक जितेको थियो र तीमध्ये १३ वटा स्वर्ण थिए।

परीक्षणका नतिजाहरु ठीक आओस् भनेर नुन र कफीको प्रयोग गरिएको बताइएको छ।

अस्वीकार

रुसी सरकार पनि संलग्न रहेको भनिएको उक्त प्रकरणले अन्तर्राष्ट्रिय खेलकुदलाई केही वर्ष प्रभावित पारिरह्यो।

रुसी ओलिम्पिक कमिटीले भने पछिल्लो प्रतिवेदनलाई पुरानै आरोप भन्दै अस्वीकार गरेको छ।

म्याकलरेनको पहिलो प्रतिवेदन पनि रुसले अस्वीकार गर्दै थप प्रमाणका लागि अन्तर्राष्ट्रिय ओलिम्पिक कमिटीलाई भनेको थियो।

विभिन्न अन्तर्राष्ट्रिय खेलकुद निकायहरुले रुसले खेलकुद क्षेत्रको निष्ठामाथि प्रहार गरेको टिप्पणी गरेका छन्।

विश्व एथ्लेटिक्स् महासंघले पछिल्लो प्रतिवेदनबारे प्रतिक्रिया जनाउंदै अब छलकपट बन्द हुनुपर्ने बताएको छ।