‘अलेप्पोमा विद्रोहीद्वारा आत्मसमर्पण’

  • 10 डिसेम्बर 2016
अलेप्पोका विद्रोही तस्वीर कपीराइट AFP

सिरियाली शहर अलेप्पोका बासिन्दाको स्थिति सहज बनाउन र शहरलाई समेत बचाउनका निम्ति प्यारिस र जिनीभामा कूटनैतिक प्रयासहरु जारी रहँदा रुसले सयौं विद्रोहीले हतियार त्यागेर आत्मसमर्पण गरेको बताएको छ।

फेरी पनि घटनाक्रम कूटनैतिक प्रयासहरु भन्दा छिटो विकास भईरहेको देखिएको छ। रुसी रक्षा मन्त्रालयका अनुसार सिरियाली सरकार र उसका पक्षधरहरु अब अलेप्पोको त्रियानब्बे प्रतिशत भूभागको नियन्त्रणमा छन्।

यो भन्दा अघि अलेप्पोमै रहने वाचा गरेका विद्रोहीहरुले हतियार त्यागेको रुसले बताएको छ र आजको आधा दिन भित्रमै १२ सय जनाले आत्मसमर्पण गरेको बताईएको छ ।

त्यही समयावधीमा २० हजार सर्वसाधारणलाई विद्रोही नियन्त्रित क्षेत्रबाट बाहिर निस्किन मद्दत गरेको पनि रुसले दावी गरेको छ।

विगत दुई दिनमा कूल ५० हजार मानिस त्यो क्षेत्रबाट बाहिर निकालिएको रुसी रक्षा मन्त्रालयले बताएको छ।

राजनीतिक समाधानमा जोड

रुसले विद्रोहीहरुलाई बाहिर निस्किरहेका सर्वसाधारणमाथि हमला नगर्न चेतावनी दिएको छ। हालसम्म ती तथ्यांकको पुष्टि गर्न सकिएको छैन।

यसै सन्दर्भमा प्यारिसमा अमेरिकी विदेशमन्त्री जोन केरीले जिनीभामा अमेरिकी सैनिक विज्ञलाई भेट्ने रुसी समकक्षीहरुले अर्थपुर्ण युद्धविरामका लागि प्रयास गर्नुपर्ने बताए।

केरीले मानवियताका आधारमा सहायता सामग्री युद्धग्रस्त क्षेत्रमा लैजान दिईनुपर्ने भन्दै बीचमा फँसेका सर्वसाधारणलाई दुबै पक्षले मानव ढालका रुपमा प्रयोग गर्न नहुने बताए।

केरीले सबै पक्षलाई वार्तामा आउन आह्वान गर्दै राजनीतिक समाधान खोज्न जरुरी रहेको बताए।