सेना ‘अलेप्पो कब्जा गर्ने स्थितिमा’

  • 12 डिसेम्बर 2016
अलेप्पो तस्वीर कपीराइट Reuters

दक्षिणी अलेप्पोमा सिरियाको सरकारी सेना निकै अघि बढेको र विद्रोहीहरुको नियन्त्रणमा अब सानो क्षेत्र मात्रै बाँकी रहेको सरकारी सञ्चार माध्यम र अभियानकर्ताहरु बताउँछन्।

एक महिना भन्दा थोरै समयमा विद्रोहीहरुले पुर्वी अलेप्पोमा कब्जामा राखेको क्षेत्रमध्ये ९० प्रतिशत गुमाएका छन्।

त्यहाँ घेराबन्दी भित्र अझै पनि खाना र पानी बिना हजारौं मानिस बसिरहेको अनुमान गरिएको छ।

सरकारलाई समर्थन गरिरहेको रुसले १ लाख भन्दा बढी सर्वसाधारण विस्थापित भएको र २२ सय विद्रोहीले आत्मसमर्पण गरेको बताएको छ।

सिरियाको आर्थिक र औद्योगिक केन्द्र रहेको अलेप्पो सन् २०११ मा राष्ट्रपति बशर अल-असद विरुद्धको आन्दोलन शुरु हुनु भन्दा अघि त्यो देशको सबैभन्दा ठुलो शहर थियो।

विभाजित

विगत ४ वर्षमा भने सरकारले पश्चिमी भागमाथि र विद्रोहीहरुले पुर्वी भागमाथि कब्जा जमाएपछि अलेप्पो दुई भागमा विभाजित बनेको छ।

इरान समर्थित लडाकु र रुसी हवाई हमलाको सहयोगमा लडाकुहरुले त्यो नियन्त्रण तोडेका हुन्।

सोमबार आधिकारिक समाचार संस्था सनाले एउटा सैनिक श्रोतलाई उद्धृत गर्दै सेनाले शीख साद, शहदिन, करम अल-अफन्दि, करम अल-दादा र सलिहिन क्षेत्रमाथि कब्जा गरेको बताएको छ।

ब्रिटेनमा आधारित पर्यवेक्षक समूह सिरियन अब्जर्भेटरी फर ह्युमन राईट्सका निर्देशक रमी अब्देल रहमानले विद्रोही नियन्त्रणमा थोरै क्षेत्रमात्रै बाँकी रहेको र ती कुनै पनि समयमा सरकारले कब्जा गर्न सक्ने बताएका छन्।

'अन्तिम चरण'

तस्वीर कपीराइट AFP

अलेप्पोको द्वन्द्व अन्तिम चरणमा पुगेको बताईएको छ।

विद्रोहीहरु अलेप्पोबाट पूर्णतया बाहिरिएपछि कस्तो किसिमको युद्धविराम लागू गर्ने भन्ने बारेमा रुसले अमेरिकासंग छलफल गरिरहेको बताएको छ, तर हालसम्म सहमति भएको कुनै संकेत देखिएको छैन।

सिरियन अब्जर्भेटरीले गत नोभेम्बर महिनाको १५ तारिख यता ४२५ सर्वसाधारण र ३६४ विद्रोही लडाकु मारिएको बताएको छ।

सरकार नियन्त्रित पश्चिमी क्षेत्रमा विद्रोहीहरुको हमलाबाट थप १३० जनाको मृत्यु भएको छ।