‘संशोधनबारे छलफल गराउने प्रधानमन्त्रीको वचन’

  • 15 डिसेम्बर 2016

प्रधानमन्त्री प्रचण्डले सदनमा संविधान संशोधन विधेयकमाथिको छलफल अघि बढाउने जानकारी दिएको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका एकजना नेताले बताएका छन्।

नेकपा एमाले लगायतका विपक्षी दलले संसद् अवरुद्ध गरिरहेका बेला प्रधानमन्त्रीले त्यस्तो वचन दिएको सद्भावना पार्टीका अध्यक्षले जानकारी दिए।

संविधान संशोधन विधेयकविरुद्ध उत्रिएको प्रमुख प्रतिपक्षी एमालेलाई सहमतिमा ल्याउन पुन: अग्रसरता देखाएका प्रधानमन्त्री प्रचण्डसँग सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतले फोनवार्ता गरेका थिए।

बाँकी भेटमा

उनीहरुबीच संशोधन विधेयक स्थगन गर्ने भन्ने चर्चाबारे कुराकानी भएको थियो।

महतोले भने, "विधेयक स्थगन गर्ने चर्चाबारे जिज्ञासा राख्दा प्रधानमन्त्रीले त्यो कुरा अस्वीकार गर्दै अब विधेयक कार्यसूचीमा राखेर छलफल गराउँछु भन्नुभयो। बाँकी कुरा भेटमा हुन्छ।"

मोर्चाका नेताहरुले प्रधानमन्त्री प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग सदनमा दर्ता भएको विधेयकबारे भेटेर कुराकानी गर्ने भएका छन्।

असंवैधानिक र राष्ट्रहीत विपरीत रहेको ठहर गर्दै एमाले लगायतका विपक्षी दलले संशोधन विधेयक संसदमा प्रस्तुत गर्न अवरोध गरिरहेका छन्।

सभामुखको साथ

तर बिहीबारको संसद बैठक सूचना टाँसेर सारेकी सभामुख ओनसरी घर्तीले सत्ता र प्रतिपक्षीबीच विवादको कारण बन्न पुगेको संविधान संशोधनको पक्षमा अभिव्यक्ति दिएकी छन्।

संसद सचिवालयको एउटा कार्यक्रममा गरेको लिखित सम्वोधनमा उनले संविधान गतिशील दस्तावेज भएको उल्लेख गर्दै भनिन्, "यसमा समय सापेक्ष जनताका भावना र आकांक्षाहरु समेट्दै अझै समृद्ध र व्यापक बनाउने आवश्यकता हुन्छ।"

तर दलहरुले मिलेरै छिट्टै त्यसको समाधान गर्ने उनको विश्वास छ।

सदनमा विधेयकबारे छलफल गराउने मनस्थिति सरकारले बनाएको हो भने विपक्षी दलको विरोधका माझ संशोधन विधेयक प्रस्तुत गर्नुपर्ने हुन्छ।

तर पुस ४ गते बस्ने गरी संसद बैठक सारिएकाले सर्वोच्च अदालतबाटै विधेयकविरुद्ध परेको रिटको छिनोफानो होस् भनेर दलहरुले समय गुजार्न खोजेको कतिपयको आँकलन छ।