अलेप्पोमा स्थानान्तरण प्रकृया आरम्भ

  • 15 डिसेम्बर 2016
अलेप्पो स्थानान्तरण मार्ग
Image caption अलेप्पो स्थानान्तरण मार्ग

सिरियाको द्वन्द्वग्रस्त शहर अलेप्पोको विद्रोही नियन्त्रित क्षेत्रबाट घाइते गैरसैनिकहरुलाई अन्यत्र लैजाने कार्य आरम्भ भएको छ।

सिरियाली अरब रेड क्रेजन्ट र रेड क्रसका अधिकारीहरुले घाइतेहरुलाई चिकित्सा उद्धार विन्दुसम्म ल्याउन सघाइरहेका छन्।

हजारौं सिरियाली विद्रोही तथा तिनका परिवारजनलाई पनि सरकारी घेराबन्दीको स्थानबाट इड्लिब र अलेप्पो प्रान्त कै अन्यत्र विद्रोही नियन्त्रित इलाकाहरुमा स्थानान्तरण गरिंदैछ।

सिरियाली सरकारी टेलिभिजनमा कम्तीमा पनि १० वटा एम्बुलेन्स र हरियो रंगका बसहरुको ठूलो लस्कर पूर्वी अलेप्पोबाट बाहिर निस्केको दृश्य देखाइएको छ।

सिरियाली टेलिभिजनले बिहीबार अलेप्पोको पूर्वी क्षेत्रबाट चारहजार जना विद्रोही तथा तिनका परिवारजनलाई स्थानान्तरण गरिने र त्यसका लागि आवश्यक सबै प्रकृया तयार रहेको जनाएको थियो।

तस्वीर कपीराइट Reuters
Image caption बिहीबार अलेप्पोको पूर्वी क्षेत्रबाट चारहजार जना विद्रोही तथा तिनका परिवारजनलाई स्थानान्तरण गरिने बताइएको थियो।

रुसी मध्यस्थकर्ताहरुले पनि अलेप्पो छाड्न चाहने सशस्त्र समूहका सबै सदस्यहरुलाई पूर्ण सुरक्षाका साथ जान दिन सिरियाली अधिकारीहरुले ग्यारेन्टी गरेका बताएका थिए।

त्यसैगरी, विद्रोहीहरुको घेराबन्दीमा परेका केफ्राया र फुआ गाउंहरुबाट पनि सरकार समर्थक सेनालाई उद्धार र स्थानान्तरण गर्ने कार्य पनि अघि बढ्ने बताइएको छ।

त्यस्तो सम्झौताका लागि मध्यस्थता गरेको रुसले, स्थानान्तरण प्रकृया छरितो ढंगले संचालन गरिने र ठाउं सारिने घाइते तथा अन्यलाई कुनै समस्यामा पर्न नदिइने संयुक्त राष्ट्र संघलाई बताएको छ।

गैरसैनिक, विद्रोही लडाकु र घाइतेलाई बुधबार नै घेराबन्दीमा परेको विद्रोही नियन्त्रित क्षेत्रबाट अन्यत्र लैजाने भनिएको थियो तर त्यसअघिको संघर्षविराम सम्झौता भंग भएको थियो।

चार बर्षसम्म चलेको लडाईंपछि सरकारी सेनाले अलेप्पोमा विद्रोहीहरुले नियन्त्रणमा लिएका लगभग सबैजसो भाग पुन: कब्जा गरेको बताइएको छ।