'अवरोधबीच विधेयक पेश गर्ने सहमति'

  • 17 डिसेम्बर 2016
बैठक तस्वीर कपीराइट secretariat

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध नहटाए पनि संविधान संशोधन विधेयक अब सदनमा अघि बढाउन सत्तापक्ष र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सहभागी संघीय गठबन्धन एकमत भएका छन्।

प्रधानमन्त्री निवासमा भएको बैठकमा सहभागी नेताहरुका अनुसार त्यसअघि सरकारले सदनको अवरोध खुला गर्न एमालेसँग छलफल गर्ने छ।

तर एमालेले विधेयकलाई छलफलमा लग्न नदिने अडान नछाडेमा विरोधका माझ पनि विधेयक प्रस्तुत गर्ने दृढता प्रधानमन्त्री प्रचण्डले व्यक्त गरेको मधेशी जनअधिकार फोरम गणतान्त्रिकमा अध्यक्ष राजकिशोर यादवले जानकारी दिए।

तयारी

उनले भने, "प्रधानमन्त्रीले सभामुखसँग कुरा गरेको र सोमबार संसद् बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठकमा कांग्रेस र माओवादीकोतर्फबाट विधेयक प्रस्तुत गर्ने पक्षमा अडान लिने र पूर्ण बैठकमा पेश गर्ने कुरा गर्नु भएको छ।"

त्यसको अर्थ एमालेको अवरोधका माझ पनि विधेयक पेश गर्ने सत्तापक्षको तयारी हो?

बैठकमा सहभागी माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुषालले भनिन्, "मधेशी मोर्चाको विरोधका माझ पनि संविधानका धारा पारित गरिएको हो, त्यसैले विधेयक प्रस्तुत गर्ने सहमति भएको छ। तर सकेसम्म एमालेलाई अवरोध नगर्न अपिल गर्ने र उसँग छलफल गर्ने कुरा पनि भएको छ।"

प्रमुख प्रतिपक्षी एमाले र सरकार विधेयक स्थगन गरेर स्थानीय चुनावमा जाने तयारीमा लागेको चर्चाका कारण झस्किएका संघीय गठबन्धनका नेता सत्ताधारी दलको राय प्रत्यक्ष बुझ्ने सिलसिलामा बैठक भएको थियो।

बैठकको शुरुमा प्रधानमन्त्रीले विधेयक स्थगन वा फिर्ता दुबै नहुने कुरामा गठबन्धनका नेताहरुलाई आश्वस्त पारेका थिए।

साथको खोजी

संसदलाई बन्धक बनाएको र संघीयता लगायतका परिवर्तन आत्मसात गर्न नसकेको आरोप एमालेमाथि लगाउँदै प्रधानमन्त्रीले त्यसविरुद्ध आफूहरुसँगै उभिन गठबन्धनका नेतालाई आग्रह गरेका थिए।

तर विधेयकमा परिमार्जनको खाँचो औंल्याउँदै आएका गठबन्धनका नेताले खुलेरै सरकारलाई साथ दिइरहेका छैनन्।

प्रधानमन्त्रीले संशोधन प्रस्तुत भएपछि छलफल गरेर परिमार्जन गर्न सकिने धारणा राखेको अध्यक्ष यादवको भनाई छ।

सत्ता र प्रतिपक्षीबीच देखिएको ध्रुविकरणका माझ केहीदिन अघि मात्रै संविधान संशोधनको पक्षमा सार्वजनिक रुपमा प्रकट भएको सभामुख ओनसरी घर्तीको धारणालाई कतिपयले विरोधका माझ विधेयक अघि बढाउने संकेतका रुपमा लिएको पाइन्छ। तर उनले दलहरुबीच सहमति हुने विश्वास भने व्यक्त गरेकी थिइन्।