भेनेजुएलामा नोट फिर्ताको निर्णय तत्कालका लागि स्थगित

  • 18 डिसेम्बर 2016
भेनेज्वेला तस्वीर कपीराइट Reuters

भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोले देशको सबैभन्दा ठूलो नोटलाई फिर्ता गर्ने आफ्नो निर्णय ज्यानुअरीसम्मका लागि स्थगित गरेको बताएका छन्।

बोलिभार भनिने त्यहाँको मुद्राको सबैभन्दा ठूलो अर्थात सयको नोट हटाउने निर्णयपछि भेनेजुएलाका विभिन्न भागमा विरोध प्रदर्शनहरु भएका थिए।

भेनेजुएलामा १ सय बोलिभारलाई फिर्ता गरिनुपर्ने वा त्यसको बदलामा अरु नोटहरु लिनुपर्ने भनिएपछि त्यहाँका नागरिकहरुले यस हप्ताका धेरै दिन लाईनमा बसेर बिताएका थिए।

बाध्यता

राष्ट्रपति निकोलस मडुरोले तस्करी र पैसा लुकाउने कार्य रोक्नका लागि त्यो आवश्यक भएको बताएका थिए।

तर उनले त्यस्तो बताएको केही समयमै अन्य नोटहरुको अभाव भएपछि मानिसहरु सामान किन्न र अरु सुविधा उपभोग गर्नका लागि क्रेडिट कार्डमा भर पर्न बाध्य भए।

नोटको अभावका कारण भेनेजुएलाका हजारौं पसलहरु बन्द भएका छन् र मानिसहरुले खानेकुरासमेत किन्न पाएका छैनन्।

तस्वीर कपीराइट Reuters

धेरै सहरहरुमा लुटपाट र अशान्ति मच्चिएको छ।

आरोप

पुरानो एक सयको नोट साट्नका लागि आउनुपर्ने नोटहरुलाई अन्तर्राष्ट्रिय रुपमा अनावश्यक अवरोध पुर्याइएकाले पछिल्लो अवस्था देखापरेको राष्ट्रपति मडुरोले बताएका छन्।

मडुरोले मुद्रा स्फिति पाँचसय प्रतिशतसम्म बढ्नुको दोष छिमेकी कोलम्बियाका गुण्डाहरु र मुद्रा सटहीमा संलग्न समूहहरुलाई लगाएका छन्।

उनले गुण्डाहरुले ३ सय अर्ब बोलिभार बराबरको मुद्रा राखेको र ती मध्य धेरै एकसयका नोटहरु रहेको बताएका छन्।