‘बर्लिन आक्रमणकारीको पहिचान हुन बाँकी’

  • 20 डिसेम्बर 2016
जर्मनी तस्वीर कपीराइट AFP

जर्मनीका अधिकारीहरुले सोमबार पक्राउ गरिएका एकजना पुरुष बर्लिनस्थित एउटा क्रिशमश बजारमा ट्रक दुर्घटना गराएकै व्यक्ति हुन् वा होइनन् भन्ने कुरा निश्चित भइनसकेको बताएका छन्।

सोमबार राति भीडभाडयुक्त एउटा क्रिशमश बजारमा जानाजान ट्रक छिराइँदा १२ जनाको ज्यान गएको थियो भने कम्तीमा ५० जना घाइते भएका थिए।

बर्लिनका प्रहरी प्रमुखले पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै पक्राउ परेका व्यक्ति नै घटनाका लागि जिम्मेवार रहेको अनुसन्धानकर्ताहरुले अहिलेसम्म पुष्टि गर्न नसकेको बताए।

यसअघि जर्मन सरकारले ट्रक आक्रमणमा मारिएका मानिसहरुको सम्मानमा मंगलबार बर्लिनका क्रिशमश बजारहरु बन्द रहने बताएको थियो।

गाह्रो

तर देशका बाँकी स्थानका क्रिशमश बजार खुल्ला रहने र अन्य महत्वपूर्ण घटनाहरु जारी रहनुका साथै सुरक्षा व्यवस्था कडा पार्ने सम्बन्धमा स्थानीय तहले निर्णय गर्न सक्ने त्यहाँको आन्तरिक मामिला मन्त्रालयले जनाएको थियो।

चान्सलर एंगेला मर्केलले बर्लिनमा गराइएको घटनाका लागि कोही शरणार्थी जिम्मेवार रहेको पुष्टि भए त्यो सहन गाह्रो हुने बताएकी छन्।

यद्यपि डरका कारण निष्क्रिय नहुन जर्मन नागरिकलाई उनले आग्रह गरिन्।

मर्केलले भनिन्, "म जस्तै लाखौं मानिसले आज बिहान आफैंलाई सोधिरहेका छन्- निर्भिक रुपमा हिँड्न पाइने क्रिशमस बजार जहाँ हामीले जिन्दगीलाई उत्सवका रुपमा मनाउँछौँ त्यहाँ एकजना हत्याराले कैयौं मानिसको ज्यान कसरी लिन सक्छ? मसँग यसको सरल जवाफ छैन।"

जर्मन सञ्चारमाध्यमहरुका अनुसार २३ वर्षीय संदिग्ध ट्रक चालक शरण लिन खोजिरहेका पाकिस्तानी नागरिक हुन्।

परिवर्तन

गत फेब्रुअरीमा उनी जर्मनी पुगेको सुरक्षा स्रोतले बताएका छन्।

उनी बस्दै आएको ठानिएको आश्रयस्थलमा प्रहरीले खोजतलास गरेको विवरणहरु प्रकाशमा आएका छन्।

यसैबीच संदिग्ध आतंकवादी हमलापछि चान्सलर मर्केलका केही साझेदारहरुले देशको आप्रवास तथा सुरक्षा नीतिमा परिवर्तन गरिनुपर्ने माग गरेका छन्।

अमेरिकी राष्ट्रपति बराक ओबामा र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसहितका विश्व नेताहरुले घटनाको निन्दा गरेका छन्।