कार्की विरुद्धको रिटमाथि सुनुवाइ शुरु

  • 22 डिसेम्बर 2016
लोकमानसिंह कार्की
Image caption अख्तियारका निलम्बित प्रमुख कार्कीले विज्ञप्ती जारी गर्दै आफूमाथि पूर्वाग्रह प्रेरित कारवाही गरिएको बताएका छन्

सर्वोच्च अदालतमा अख्तियारका निलम्बित प्रमुख लोकमानसिंह कार्की विरुद्ध परेको रिटमाथि सुनुवाइ शुरु भएको छ।

बिहीबार भएको सुनुवाइमा रिट निवेदक ओम प्रकाश अर्याल सहित ११ वकिलले कार्की विरुद्ध बहस गरेका थिए।

कार्कीका पक्षधर वकिलले शुक्रबार बहस गर्ने बताइएको छ।

कार्कीले बिहीबारै फेसबुक मार्फत राष्ट्रिय स्तरका नेतामाथि छानविन पुरा गरी मुद्दा दायर गर्न लागेकाले आफूमाथि महाभियोग लगाइएको आरोप लगाएका छन्।

योग्यतामाथि प्रश्न

न्यायाधीशहरु आनन्दमोहन भट्टराई, ईश्वरप्रसाद खतिवडा र अनिलकुमार सिन्हाको पूर्ण इजलासले सुनुवाइ शुरु गरेको हो।

अख्तियार प्रमुखले पदीय आचरण विपरित काम गरेको भनेर संसदमा महाभियोग प्रस्ताव दर्ता भएपछि निलम्बनमा परेका कार्कीको योग्यतामाथि नियुक्तिकै बेला प्रश्न उठाउँदै रिट परेको थियो।

एकपटक खारेज भएको रिट गत भदौ अन्तिममा पुन: अगाडि बढाइएको थियो।

अख्तियार प्रमुख बन्न कार्कीको योग्यता नपुग्ने भन्नेबारे बहस गरेका रिट निवेदक अर्यालले आफ्नो पक्षको बहस बिहीबार पुरा भएको जानकारी दिँदै भने, "संविधानमा व्यवस्था भए बमोजिम बीस वर्षको विषयगत योग्यता मागेको छ र उच्च नैतिक चरित्र हुनुपर्ने भनिएको छ दुवै पुग्दैन। त्यसैमा बहस गर्यौं म लगायत एघार जनाले। सरकारी वकिलले कार्कीको तर्फबाट भनाइ राखेका थिए। "

बहस गर्न रिट पक्षधरलाई दुइ घण्टाको समय दिइएको थियो। विपक्षीलाई पनि उत्तिनै समय दिने प्रचलन रहेकाले बहस शुक्रबार पुरा हुनसक्ने देखिएको अर्याल बताउँछन्।

ढिलाइ

देशमा गैर राजनीतिक चुनावी सरकार भएका बेला अख्तियार प्रमुख नियक्त भएका कार्कीले गरेका अनेकौं भ्रष्टाचार विरोधी भनिएका कारवाही विवादास्पद बन्न पुगे।

शैक्षिक संस्थादेखि कर्मचारीतन्त्रमा उनको हस्तक्षेपबारे आलोचना भइरहँदा अकस्मात उनी विरुद्ध संसदका एक चौथाई सदस्यले करिब दुइ महिना अघि महाभियोग प्रस्ताव दर्ता गराएका थिए।

नाटकीय ढंगले रातारात दर्ता गरे पनि संसदले महाभियोग प्रस्तावमाथिको कारवाही ढिलाढाला गरी कार्कीमाथि कारवाहीको जिम्मा व्यवस्थापिकाले न्यायालयलाई छोड्न चाहेको विश्लेषण कतिपयले गर्ने गरेका छन्।

मुख्य विपक्षी एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङ महाभियोग प्रस्ताव संसदमा ढिलाई भएको स्वीकार्छन्।

उनी भन्छन्, "पहिले सत्तापक्षका कारण र अहिले हाम्रो संसद अवरोधका कारण ढिला हुन पुगेको हो।"

दुर्व्यवहार

बिहीबार अपरान्ह तारेख लिन अदालत पुगेका कार्कीमाथि दुर्व्यवहार गरिएको तस्वीर सार्वजनिक भएका छन्।

अदालतबाट फर्केर कार्कीले चार पृष्ठ लामो विज्ञप्ती जारी गर्दै आफूलाई नियुक्त गर्ने पूर्व सरकार प्रमुख रहेका प्रधानन्यायाधीश खीलराज रेग्मीप्रति आभार प्रकट गरेका छन्।

आफूसँग धेरै रहस्यका पोकाहरु रहेको र जनताले चाहेको तथा देशले मागेको उपयुक्त समयमा सम्पूर्ण तथ्य विवरण जनसमक्ष ल्याउने चेतावनी कार्कीले दिएका छन्।

त्यसैगरी आफूले केही राष्ट्रिय स्तरका नेताहरु विरुद्ध अकुत सम्पत्ति सम्बन्धी सम्पूर्ण छानबिन प्रक्रिया गरि मुद्दा दायर गर्नै लागेकाले आफूमाथि छापामार शैलीमा षडयन्त्रपूर्वक महाभियोग लगाइएको पनि कार्कीले विज्ञप्तीमा दावी गरेका छन्।

०६२ /०६३ को आन्दोलनपछि संबैधानिक प्रमुखमाथि लागेको पहिलो महाभियोग प्रस्ताव र अदालतमा परेको रीटलाई धेरैले चासोका साथ हेरेका छन्।