बर्लिन आक्रमणकारीका नातेदार पक्राउ

  • 24 डिसेम्बर 2016
प्रहरीले सार्वजनिक गरेका अनिस अम्रीका २ तस्वीर तस्वीर कपीराइट AFP

ट्युनिशियाका अधिकारीहरुले बर्लिनको एउटा क्रिस्मस बजासमा घातक आक्रमण गरेका अनिस अम्रीसंग सम्बन्धित, उनीहरुकै शब्दमा, एउटा "आतंकवादी इकाइ" पत्ता लगाएको बताएका छन्।

१८ देखि २७ वर्ष उमेरका ती तीनजना, एउटा आतंकवादी इकाइका सदस्य भएको र उनीहरुलाई रातभरी हिरासतमा राखिएको ट्युनिशियाको आन्तरिक मामिला मन्त्रालयले बताएको छ।

ट्युनिशियामा जन्मेका २४ वर्षीय अम्रीले सोमबार गरेको लरी आक्रमणमा परेर १२ जनाको मृत्यु भएको थियो र ४९ जना घाईते भएका थिए।

उनी घटनास्थलबाट भाग्न सफल भएका थिए तर प्रहरीले शुक्रबार उनलाई मिलान गोली हानेर मारेको थियो।

सम्पर्क

गिरफ्तार गरिएका अम्रीका नातेदारले अम्रीसंग कुरा गरेको प्रहरीसमक्ष स्वीकार गरेको ट्युनिशियाको आन्तरिक मामिला मन्त्रालयले बताएको छ।

उनले सुरक्षा निगरानी छल्नलाई गोप्य सन्देश पठाउन मिल्ने टेलिग्राम नामक एप प्रयोग गरेको बताइएको छ।

ती तीन जनाको समूह ट्युनिश शहर नजिकैको फुचाना नगरमा र राजधानी भन्दा करीब १५० किलोमिटर दक्षिणमा रहेको अम्रीको गृहनगर केर्वान नजिकैको उज्लेशा नगरमा सकृय रहेको मन्त्रालयले बताएको छ।

मन्त्रालयका अनुसार अम्रीले ती नातेदारलाई आफ्नो अतिवादी विचारधारा अवलम्बन गर्न प्रोत्साहित गरेका थिए र इस्लामिक स्टेट समूहप्रति वफादारीको शपथ लिन लगाएका थिए।

खोजी जारी

अम्रीका ती नातेदारले इस्लामिक स्टेट भनिने समूहलाई समर्थन गर्ने बताएको पनि मन्त्रालयको वक्तव्यमा बताइएको छ।

शुक्रबार आइएसले एउटा भिडियो सार्वजनिक गरेको थियो जसमा अम्रीले त्यो समूहका नेता अबु-बक्र अल-बग्दादीप्रति वफादार रहने वाचा गरेका देखिएको छ।

युरोपभरी ३ दिन सम्म जारी रहेको खोजी पछि अम्रीलाई मिलानको उपशहरी क्षेत्र सेस्तो सान जियोभानीमा एउटा नियमित प्रहरी जाँचबुझका क्रममा गोली हानेर मारिएको थियो।

उनका सम्भाव्य सहयोगीहरुको खोजी जारी छ।