भारतबाट ‘थप २२० मेगावट’ बिजुली

  • 25 डिसेम्बर 2016
ढल्केबर प्रसारण लाइन

तिहारयता राजधानी काठमाण्डूमा लोडसेडिङ् नगरेको र अन्य जिल्लामा पनि लोडसेडिङ् कम गर्ने योजनामा रहेको बताउँदै आएको विद्युत प्राधिकरणले यो वर्ष थप २ सय २० मेगावाट विद्युत भारतबाट खरिद गर्न लागेको जनाएको छ।

भारतले विद्युत दिन सहमति जनाइसकेको र उक्त विद्युत ल्याउन नेपालमा आवश्यक पर्ने संरचना निर्माणको काम अन्तिम चरणमा रहेको अधिकारीहरुले बताएका छन्।

जाडो मौसमसँगै विद्युतको माग पनि बढदै गएका बेला प्राधिकरणले थप विद्युत खरिदको योजना अघि सारेको हो।

अपेक्षा

हालै भारत गएको उर्जा मन्त्रालय र प्राधिकरणको टोलीलाई भारतीय अधिकारीहरुले २२० मेगावाट थप विद्युत दिन तयार रहेको जानकारी दिएको बताइएको छ।

उक्त विद्युत चारवटा प्रसारणलाइनमार्फत नेपालमा ल्याइने प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले बताए।

उनले भने, "चारवटा ठाँउबाट थप विद्युत दिन भारत तयार भइसकेको छ। हामीले यस वर्ष २२० मेगावाट थप विद्युत ल्याउने कार्यक्रम रहेको छ र त्यसै अनुसार संरचना निर्माणको काम अगाडि बढिरहेको छ।"

ढल्केबर-मुजफ्फरपुर प्रसारणलाइनबाट ८० मेगावट, कुशाहा-कटैया र रक्सौल-परवानीपुर प्रसारणलाइनमार्फत ५०,५० मेगावाट ल्याइनेछ।

यसैगरी टनकपुरबाट ४० मेगावाट भित्र्याइने प्राधिकरणले जनाएको छ।

Image caption कतिपय प्रसारणलाइनमा ट्रान्सफर्मर समेत जोड्ने काम सकिएको बताइएको छ।

संरचना

ढल्केबर-मुजफ्फरपुर प्रसारणलाइनमा १०० एमभिएको ट्रान्सफर्मर जोड्ने काम सकिएको बताइएको छ।

अन्य प्रसारणलाइनको स्तरोन्नति र नयाँ निर्माणको काम पनि अन्तिम चरणमा रहेको प्रवक्ता अधिकारीले बताए।

उनले भने, "टनकपुरमा थप संरचना निर्माणमा केही ढिलाइ हुने देखिए पनि हालकै संरचनालाई मर्मत गर्ने काम पनि केही दिनमा सकिन्छ, कुशाहा-कटैया र रक्सौल-परवानीपुर प्रसारणलाइनको काम पुस महिनाभित्रै सक्ने गरी निर्माण भइरहेको छ।"

थप विद्युत जाडो मौसमभित्र ल्याइ सक्ने योजना प्राधिकरणको छ।

५२५ मेगावाट जति विद्युत देशमै उत्पादन भइरहेको भए पनि जलाशययुक्त आयोजनाको संख्या कम भएका कारण हिउँदमा पानीको मात्रा घटेसँगै विद्युत उत्पादन पनि घटने बताइएको छ।

गत वर्ष भारतबाट अधिकतम ३४७ मेगावाट सम्म विद्युत नेपालले खरिद गरेको थियो।

२२० मेगावाट थप भएसँगै सुख्खा मौसममा बढ्दै जाने माग धान्नसकिने र हाल राजधानीमा रहेको लोडसेडिङ् नहुने अवस्था कायमै रहने अपेक्षा प्राधिकरणले गरेको छ।