प्रचण्ड, बाबुरामका सम्भाव्य ‘एकता’का कुरा

  • 26 डिसेम्बर 2016
पुस्तक विमोचन समारोह तस्वीर कपीराइट cmprachanda.com
Image caption माओवादी-केन्द्रका सांसद स्वर्गीय भक्तिप्रसाद पाण्डेको स्मृतिमा लेखिएको पुस्तक विमोचन समारोहमा दुवै नेता एकै मञ्चमा देखिएका थिए।

नेकपा माओवादी-केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्ड र उनको दलबाट अलग्गिएका नेता बाबुराम भट्टराईले आफूहरुबीच पुन: एकता हुन सक्ने संकेत दिएका छन्।

तथापि उनीहरुले आपसमा राजनैतिक तथा वैचारिक मतभेदहरु कायमै रहेको बताए।

संविधान कार्यान्वयन गर्ने विषयमा विविध चुनौतिको सामना गरिरहेका प्रधानमन्त्री प्रचण्डले चाहिँ परिवर्तनको रक्षाका लागि दुवै नेता एकै ठाउँमा उभिनु पर्नेमा जोड दिए।

१५ महिनाअघि बाबुराम भट्टराईले तत्कालीन एनेकपा माओवादी दल परित्याग गरेर नयाँ शक्ति पार्टी, नेपाल खोलेपछि भट्टराई र प्रचण्डको लामो राजनीतिक सहयात्रा टुटेको थियो।

संभावना

तर सोमबार राजधानीमा माओवादी केन्द्रका सांसद स्वर्गीय भक्तिप्रसाद पाण्डेको स्मृतिमा लेखिएको पुस्तक विमोचन समारोहमा संगै देखिएका दुवै नेताले आफ्नो लामो राजनीतिक सहयात्राको प्रसंग कोट्याउँदै आफूहरुबीच पुन: एकताको संभावना अझै जिवितै रहेको बताए।

अहिले देश फेरी संकट-उन्मुख भएको बताउँदै नेता भट्टराईले दुई पक्षका विचार र नीतिमा एकरुपता आउन सके एकता सम्भव हुने बताए।

"अहिले देशमा संकटका बादलहरु मडारिएका छन्। भक्तिजीले सधै प्रचण्ड र बाबुराम मिल्नु पर्छ भन्नु हुन्थ्यो। मिल्न अहिले पनि सकिन्छ, तर विचार नीति र कार्यक्रम एक हुनु पर्यो।"

नयाँ संविधान जारी भएलगत्तै भट्टराईले राजनैतिक र वैचारिक अन्तरसंघर्षको कारण देखाउँदै अलग राजनीतिक यात्रा शुरु गरेका थिए।

तर भट्टराईले त्यतिबेला हतारमा निर्णय लिएको बताउँदै प्रचण्डले लामो राजनीतिक यात्राको क्रममा आफू र भट्टराई एक-अर्काका पूरक रहँदै आएको बताए।

संविधान जारी भएपछि संविधान कार्यान्वयनको चुनौतिमाझ भट्टराईले अलग बाटो रोजेकोमा खिन्नता प्रकट गर्दै प्रचण्डले सशस्त्र द्वन्दवपश्चात हासिल राजनीतिक उपलब्धीको रक्षाका लागि दुवै संगसंगै मिलेर जानु पर्नेमा जोड दिए।

"एकले अर्कालाई धेरै आरोपित गर्नेभन्दा पनि समीक्षा गर्न आवश्यक छ। त्यो समीक्षाले हामीलाई फेरी एकै ठाउँमा पुर्याउन सम्भव छ।"

शर्त

सम्भाव्य एकताका लागि भट्टराईले माओवादी केन्द्रका "साथीहरु" पनि राजनीतिक रुपमा रुपान्तरित हुनुपर्ने शर्त अघि सारे।

भट्टराईको त्यस्तो भनाइले दुई पूर्व माओवादी नेताबीच छिट्टै एकता हुने संभावना क्षीण रहेको देखाएको छ।

तर दुई पूर्व नेताको भेटको दिन संयोगवश उनीहरुका राजनीतिक मार्गदर्शक चिनियाँ कम्युनिष्ट नेता माओ जेदोङको जन्मजयन्ती परेको थियो।