अमेरिका-रुस विवाद: ट्रम्पद्वारा पुटिनको प्रशंसा

  • 31 डिसेम्बर 2016
रुस तस्वीर कपीराइट AFP

वासिङ्टनले ३५ रुसी कूटनीतिज्ञलाई निष्कासन गरेको घटनामा उस्तै खालको प्रतिक्रिया नजनाएको भन्दै अमेरिकी राष्ट्रपति निर्वाचित डोनल्ड ट्रम्पले मस्कोको प्रशंसा गरेका छन्।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चालेको उक्त कदमलाई महत्वपूर्ण भन्दै ट्रम्पले आफ्नो ट्वीटमा उनलाई चलाखको संज्ञा दिएका छन्।

तर पुटिनले भने आफ्नो देशमा रहेका कोही पनि अमेरिकी दुतावासका कर्मचारीले रुस छोड्नु नपर्ने बताएका छन्।

निष्कासन

अमेरिकी राष्ट्रपतीय चुनावसँग सम्बन्धित सूचनाहरु ह्याक अर्थात् अनधिकृत रुपमा चोरी भएको भनिएको प्रकरणमा वासिङ्टनले अमेरिकास्थित रुसी कूटनीतिज्ञलाई निष्कासन गरेको छ।

राष्ट्रपति निर्वाचित ट्रम्पले अमेरिका र रुसको यो पछिल्लो विवादसम्बन्धी आफ्नो धारणालाई महत्व दिँदै आफूले रुसी राष्ट्रपतिको प्रशंसा गरेको ट्वीटलाई 'पिन' गरेर अग्रभागमा राखेका छन्।

तर उनले ट्वीटमा प्रयोग गरेको 'डिले' अर्थात् विलम्ब भन्ने शब्दलाई ठ्याक्कै के सँग जोड्न खोजेको स्पष्ट छैन।

तस्वीर कपीराइट AFP

अस्वीकार

तर मस्कोले भने अमेरिकाले लगाएको ह्याकिङको आरोपलाई अस्वीकार गरेको छ।

पुटिनले यसअघि गैरजिम्मेवार कूटनीतिका अगाडि रुस नझुक्ने बताएका थिए।

ट्रम्पले चाहिँ ओबामा प्रशासनले दाबी गरेको ह्याकिङको आरोपलाई हास्यास्पद भनेका थिए।

यद्यपी पुटिनको निर्णय आउनुभन्दा अघि बोल्दै ट्रम्पले अवस्थाबारे बुझ्न अर्को साता अमेरिकी गुप्तचर संस्थाका प्रमुखलाई भेट्ने बताएका थिए।

रिपब्लिकन तर्फका सांसद तथा राष्ट्रपति पदका पूर्व उम्मेद्वार जोन मक्केइनले भने चुनावसँग सम्बन्धित रुसको साइबर कारवाही युद्धस्तरको भएको र अमेरिकाले रुसलाई त्यसको मुल्य चुकाउन लगाउनुपर्ने बताएका छन्।