टर्कीमा बन्दूकधारीको खोजी जारी

  • 3 जनवरी 2017
तस्वीर कपीराइट AP

स्थानीय संचारमाध्यमहरुले एकजना कर्गीज पुरुषको पहिचान सार्वजनिक गर्दै उनलाई उक्त हमलाका संदिग्ध हमलाकारीका रुपमा प्रस्तुत गरेका थिए, तर तिनलाई हिरासतमा लिएका अधिकारीहरुले ती पुरुषलाई विना अभियोग रिहा गरिदिएका बताइएको छ।

ईश्वी नयां वर्षको पूर्व सन्ध्यामा इस्तानबुल शहरस्थित एउटा रात्री क्लबमा रमाइलो गरिरहेका ३९ जना मानिसहरुको ज्यान लिएका हमलाकारी अझै फरार रहेको बताइएको छ।

उक्त घटनाका सिलसिलामा केही मानिसहरुलाई गिरफ्तार गरिएको छ जसमा इस्तान्बुल विमानस्थलमा पक्राउ गरिएका दुईजना विदेशीहरु पनि छन्।

समाचार

केही समय अघि टर्कीका कतिपय संचारमाध्यमले एकजना २८ वर्षीय कर्गीज पुरुष सो हमलाका लागि जिम्मेवार भन्दै समाचार प्रकाशित गरेका थिए।

इन्टरनेटको सामाजिक संजालमा उनको तस्वीर र राहदानीका विवरणहरु पनि राखिएको थियो।

इस्तानबुलस्थित बीबीसी सम्बाददाता मार्क लोवेन भन्छन्, ती पुरुषको हुलियाका आधारमा कर्गीस्तानको गुप्तचर सेवाले अनुसन्धान थालेको बताइएको थियो तर पछिल्ला विवरणहरुका अनुसार उनलाई संदिग्ध व्यक्तिका रुपमा लिइएको छैन।

सोधपुछ

एउटा कर्गीज समाचार एजेन्सीका अनुसार ती पुरुषको तस्वीर संदिग्ध हमलाकारीको अनुहारसंग मिल्दोजुल्दो देखिएकाले टर्कीका प्रहरीले उनीसंग सोधपुछ गरेका र पछि विना कुनै अभियोग रिहा गरिदिएका थिए।

हमला भएको इस्तानबुलस्थित रात्रीक्लब बाहिर श्रद्धाञ्जली स्वरुप मानिसहरुले फूलका गुच्छाहरु राखिरहेका छन् र त्यहां मारिएका व्यक्तिहरुको तस्वीरहरु पनि राखिंदैछ।

आफुलाई इस्लामिक स्टेट भनेर चिनाउने संगठनले सो हमलाको जिम्मा लिएको थियो।

सिरियामा इस्लामिक स्टेट विरुद्धको सैनिक कारवाहीमा टर्कीले पनि भाग लिइरहेको छ।