'रुसले विमानवाहक पानीजहाज फिर्ता ल्याउने'

  • 6 जनवरी 2017
तस्वीर कपीराइट Reuters

रुसले भूमध्यसागरमा रहेको उसको विमानवाहक पानीजहाज एडमिरल कुज्नेत्सोभलाई स्वदेश फिर्ता ल्याउन लागिएको जनाएको छ।

उक्त बेडा सिरियामा जारी रुसी सैन्य कारवाहीमा संलग्न थियो। सो निर्णयलाई त्यसक्षेत्रमा रुसी सैन्य तैनाथी घटाउने एउटा कदमको रुपमा हेरिएको छ।

रुसी सशस्त्र सेनाका प्रमुखले भने, रुसले सिरियास्थित उसका सैन्यहरु फिर्ता गर्न शुरु गरेको छ, र विमानवाहक बेडाको फिर्ती त्यसको शुरुआत हो।

जनरल भेलरी गेरासिमोभले भने, रुसी सशस्त्र सेनाका सर्वोच्च कमाण्डर भ्लादिमिर पुटिनको निर्णय अनुसार रुसी रक्षा मन्त्रालयले सिरियामा गरिएको सैन्य तैनाथी घटाउन शुरु गरेको छ।

यसअघि पनि गत वर्ष मार्च महिनामा राष्ट्रपति पुटिनले सिरियाबाट आफ्ना सैनिकहरु फिर्ता गर्न शुरु गर्ने घोषणा गरेका थिए।

फिर्ता

त्यसपछि केही युद्धक विमानहरु फिर्ता गरिएका थिए।

झण्डै दुई वर्षदेखि रुसले सिरियाली राष्ट्रपति बसर अल असदको समर्थनमा सरकार विरोधी विद्रोहीहरु विरुद्ध हवाइ हमला गर्दै आएको छ।

सिरियाली द्वन्द्वमा रुसले खुलेर भाग लिएपछि विद्रोहीहरु विरुद्ध असद सरकारको स्थिति बलियो बन्दै गएको ठानिन्छ।

हाम्रा कूटनीतिक संवाददाता जोनाथन मार्कस भन्छन्, रुसी सहयोगमा सिरियाका सरकारी सैन्यले अलेप्पो शहरबाट विद्रोहीहरुलाई बाहिर धकेलिदिएपछि र असदको सत्ता बलियो हुँदै गएको देखिएपछि राष्ट्रपति पुटिनको पछिल्लो निर्णय आएको छ।

तस्वीर कपीराइट Russian Defense Ministry

उनी भन्छन्, यसबाट मस्कोले सिरियामा जारी लडाईंको एउटा महत्वपूर्ण चरण पुरा भएको संकेत दिन खोजेको जस्तो देखिन्छ।

शान्तिवार्ता

रुस, टर्की र इरानले यही जनवरी महिना भित्रै कजखस्तानको राजधानी अस्तानामा सिरियाली सरकार तथा विद्रोहीहरुबीच शान्तिवार्ता शुरु गराउन प्रयास गरिरहेका छन्।

संयुक्त राष्ट्रसंघका अनुसार रुस र टर्कीको पहलमा सिरियामा केही दिनअघि गरिएको युद्धविराम कायमै छ।

यद्यपि विद्रोहीहरुले सिरियाका सरकारी सेनाले युद्धविरामको व्यापक उल्लंघन गरिरहेको आरोप लगाएका छन्।

उनीहरुले यदि यस्तै स्थिति कायम रहे प्रस्तावित शान्ति वार्तामा भाग नलिने चेतावनी पनि दिएका छन्।

झण्डै ६ वर्षदेखि जारी सिरियाली गृहयुद्धमा अढाइ लाख भन्दा बढी मानिसहरुको ज्यान गैसकेको छ भने दशौं लाख छिमेकी मुलुकहरुमा शरणार्थीको जीवन बिताइ राखेका छन्।

त्यस्तै लाखौं सिरियालीहरु देशभित्रै विस्थापित भएका छन्।

संयुक्त राष्ट्र संघले भनेको छ, अहिले पनि झण्डै पचास लाख मानिसहरु लडाईको चपेटामा परेका छन् र अनुमानित साढे तेह्र लाख मानिसहरुलाई तत्काल मानवीय सहायताको आवश्यकता छ।