फ्लोरिडा विमानस्थलमा गोली प्रहार, पाँचको मृत्यु

  • 7 जनवरी 2017
तस्वीर कपीराइट PBS

समाचारहरुमा शुक्रबार अपरान्ह फ्लोरिडा राज्यको फोर्ट लडरडेल अन्तर्राष्ट्रिय विमानस्थलमा एकजना बन्दूकधारीले जथाभावी गोली चलाएको बताइएको छ।

पाँच जनाको ज्यान गएको र कम्तीमा आठ जना घाइते भएको जनाइएको छ।

बन्दूकधारी अहिले प्रहरीको हिरासतमा छन् र उनी एक्लै भएको ठानिएको छ।

स्थानीय शेरिफ स्कट इजरेलले सम्वाददाताहरुलाई बन्दूकधारी प्रहरीको नियन्त्रणमा रहेको तथा एफबीआइले सोधपूछ गरिरहेको बताए।

उक्त व्यक्ति २६ वर्षीय एस्ताबान स्यान्तियागो रहेको र उनले अमेरिकी सेनाको परिचयपत्र बोकेको बताइएको छ।

उनका आफन्तले एपी समाचार संस्थासंग कुरा गर्दै उनले अलास्कामा मानसिक उपचार लिइरहेको तथा उनले पोर्तो रिको न्यासनल गार्डमा काम गरेको बताएका छन्।

सो हमलाको उद्देश्य के थियो भन्ने खुलिसकेको छैन।

घटना

विमानस्थलले टर्मिनल २ मा यात्रुहरुले सामान संकलन गर्ने क्षेत्रमा सो घटना भएको जनाएको छ।

फ्लोरिडा राज्यका प्रहरीले स्थानीय समय अनुसार दिउँसो एक बजे विमानस्थलमा गोली चलेको खबर आफुहरुले पाएको जनाएका छन्।

त्यस लगत्तै एम्बुलेन्स र प्रहरी टोलीहरु त्यसतर्फ गएका थिए।

ह्वाइटहाउसका भूतपूर्व प्रेस सेक्रेटरी एरी फ्लिशरले एक ट्वीट गर्दै आफु उक्त विमानस्थलमा रहेकेा र गोली चल्न थालेपछि मानिसहरु भागेको जनाएका थिए।

घटनास्थलमा खिंचिएको भनिएको भिडियोमा कैयौं घाइतेहरु भुईंमा लडिरहेको र आत्तिएका मानिसहरुले चिकित्सकीय सहायताकालागि आग्रह गरेको देखाइएको छ।