छाउपडीविरुद्ध मेरो संघर्ष

  • 7 जनवरी 2017
कृष्णमाया
Image caption म सञ्चारकर्मसँग जोडिएको छ वर्ष भइसकेको छ तैपनि यो अवधिमा छाउपडीको अवस्थामा अपेक्षित सुधार देख्न सकेको छैन

सञ्चारकर्मको मेरो दैनिकीमा विभिन्न खालका समाचाररुपी मुद्दाहरुसँग मेरो साक्षात्कार भइनैरहन्छ।

त्यसमाथि देशकै विकट र पिछडिएको क्षेत्र जुम्लामा बसेर पत्रकारिता गरिरहँदा मैले गरीबि, अभाव, अशिक्षाले निम्त्याएका कहर र महिलाहरुले भोग्नुपरेका अथाह पीडा नजिकबाट नियालेको छु।

सामाजिक कुरीति छाउपडीले जुम्ला र वरपरको ठाउँलाई दिएको गहिरो घाउ पनि मैले नजिकबाट देखेको छु।

तर त्यही समाजको आफू पनि हिस्सा भएकाले त्यसबाट म पनि अछुतो रहन सक्ने कुरै भएन।

कहिलेकांही आफैलाई प्रश्न सोध्ने गर्छु--समाचारकर्मीका रुपमा अरुका समस्या र व्यथा पटकपटक दुनियाँमाझ ल्याउने प्रयास गर्ने मेरो आफ्नै बह चाहिँ कहाँ गएर पोखुँ?

महिनाबारी हुन थालेको शुरुका केही वर्ष त मैले घरपरिवार र समाजले जे भन्छ त्यही गरे र छाउगोठमै गएर बसे।

तर जब बिस्तारै यो कुरीति हो भन्ने बुझ्दै गए तब मैले संघर्ष गर्ने निर्णय गरे र महिनाबारी भएका बेला घरभित्रै बस्न थाले।

संघर्ष

१२ वर्षको उमेरदेखि महिनाबारी हुन शुरु भएपछि म आमा, दिदी तथा भाउजूहरु जस्तै महिनाबारी भएको बेला गोठमा बस्न थाले।

त्यतिबेला म कक्षा ६ मा पढ्थे।

महिनाबारी भएको समयमा 'किताब छुनुहुँदैन, पाप लाग्छ' भन्ने सोचका कारण तीन दिन ननुहाउञ्जेलसम्म विद्यालय गइन।

त्यतिबेला 'यो के भएको होला, किन किताब छुनु हुँदैन होला' भन्ने जस्ता प्रश्न मेरो मनमा उठ्ने गर्थ्यो।

विद्यालय नगएका कारण पढाइ छुट्थ्यो।

यस्तो समस्या मलाई मात्र नभएर म जस्ता धेरै दिदी बहिनीले भोग्नुपर्यो ।

महिनाबारी भएका बेला गोठमा बस्दा मलाई 'कतिबेला के हुने हो' भन्ने डर लागिरहन्थ्यो।

गोठमा कीरा, फट्यांग्रा तथा जंगली जनावरको समेत डर लाग्थ्यो।

Image caption मेरो गाउँ नुवाकोटमा अझै पनि महिनाबारी भएका बेला छाउगोठमै गएर बस्ने चलन छ

अन्धविश्वास

अझै पनि हाम्रो गाउँघरमा महिनाबारी भएको समयमा घरको ओटालो (आंगन)मा सात दिन सम्म जान दिइंदैन।

महिनाबारी भएको समयमा गाईको दूध, घ्यू, दही, मही जस्ता कुरा खान पनि दिइंदैन।

घरको आंगनमा जान नपाउँदा मेरो मन साह्रै दुख्थ्यो।

त्यो समयमा खाना दिंदा पनि नछोएर टाढाबाट फाल्ने तथा दिने गर्छन्।

महिनाबारी भएको समयमा आफूभन्दा ठूला मान्छेलाई छुनु हुँदैन भन्ने चलन अझैपनि कायम नै छ ।

पढ्दै गर्दा एसएलसी उत्तीर्ण गरेर गाउँबाट जुम्ला सदरमुकाम खलंगामा आएँ ।

कक्षा ११ को अध्ययन गर्नका लागि सदरमुकाममा कोठा खोज्दा पहिलो पटक घरभेटीले 'तिमी छुई(महिनाबारी) हुन्छौ कि नाइँ' भनेर सोधे।

मैले नढाँटेर 'हुन्छु' भन्दा 'कोठा छैन' भनेर फर्काए।

त्यसपछि मलाई साह्रै रुन मन लाग्यो।

घर जाउँ भने पढाइ छुट्ने डर, नजाउँ बस्ने कोठा समेत नपाइने जस्तो भयो।

तै पनि बल्लतल्ल खोज्दाखोज्दै डेरा भेट्टाए।

तर घरभेटीको शर्त थियो—घरको तल्लो तलामा बस्नुपर्ने किनकी उनी ठान्थे, 'माथि बस्दा छुई हुन्छ'।

त्यतिबेला मसँग त्यो शर्त मान्नुबाहेक अरु विकल्प थिएन।

त्यहाँ बस्दै गर्दा महिनाबारी भएको बेलामा धारो छुन नदिंदा पानी अर्कैले दिनु पर्ने समस्या भोग्नुपर्यो।

परिवर्तन

महिनाबारी भएको समयमा धेरै सरसफाइ गर्नुपर्छ भन्ने कुरा पढेँ।

त्यसपछि चर्पीमा नजानु भनेर घरभेटीले भनेपनि म नमानेरै जान थाले।

सदरमुकाममा बस्न थालेको एक महिनापछि मैले रेडियोमा काम गर्न शुरु गरेँ ।

काम गर्दै गर्दा महिनाबारीको विषयमा पनि थप बुझ्दै गएँ।

महिनाबारी भएको बेला छुनु हुँदैन भन्ने सोच शिक्षित भनिएका मानिसहरुमा पनि गहिरो रुपमा गडेको छ।

म अहिले सदरमुकाममै बसेर रेडियोमा काम गर्न थालेको छ वर्ष भयो ।

महिनाबारी भएको समयमा मेरो कोठामा बस्छु, तर महिनाबारी भएको छु भनेर घरभेटी लगायतका आफूभन्दा ठूला मान्छेलाई कहिल्यै भन्दिन।

भन्यो भने छुट्टै गोठमा बस्न दबाब दिन्छन् भन्ने डर मलाई अहिले पनि छ।

Image caption म आफूले महिनाबारीमा पनि घरभित्र बस्नेसम्मको यात्रा तय गरे तर यो तस्वीरमा देखिए जस्तै छाउगोठमा बस्न बाध्य महिलाको नियति समेत कुनै दिन बदलिनेछ भन्ने आशा छ

परम्परागत रुपमा मान्यता दिंदै आएको कुरीतिलाई अन्त्य गर्न एक्लैले केही गर्न नसकिंदो रहेछ।

किन भने समाजले स्वीकार नगरेपछि परिवर्तन हुँदो रहेनछ ।

अहिले म मेरो घरमा गएको बेला महिनाबारी भएको समयमा घरमा बस्छु।

तर घरको भान्छा कोठा र पूजा कोठा बाहेकको छुट्टै एक कोठामा बस्छु।

घरमा पटकपटक प्रतिवाद गरेर गोठबाट घरको एउटा कोठासम्म बस्न सफल भएको छु।

आशा छ, कुनै जमानाको सती प्रथा अन्त्य भएजस्तै यो छाउपडी पनि अन्त्य हुनेछ।