इजरेलको जेरुसलेममा ट्रक आक्रमण

  • 8 जनवरी 2017
ट्रक तस्वीर कपीराइट AFP

इजरेलको जेरुसलेममा एकजना चालकले सैनिकहरुको समूहमा ट्रक जानाजान ठोक्काएर चार जनाको ज्यान लिएका छन्।

प्रहरीले त्यो घटनालाई आतंकवादी आक्रमण भनिरहेका छन्।

२० देखि ३० वर्षको उमेरका तीन महिला र एक पुरुष मारिएको र कम्तिमा १३ जना घाइते भएको घटनास्थल पुगेका स्वास्थ्यकर्मीले बताएका छन्।

इजरेली रेडियोसंग कुरा गर्दा प्रहरी प्रवक्ता लुबा साम्रीले त्यो घटनालाई आतंकवादी आक्रमण भनेकी छिन्।

जानाजान

त्यसै समूहका एकजना सैनिकले आक्रमणकारीलाई गोली हानेर मारेको उनले बताएकी छिन्।

घटनास्थलका तस्वीरहरुमा थुप्रै ठाउँमा गोलीका निशानहरु लागेको ट्रक देखिएको छ।

घटनाका प्रत्यक्षदर्शी एकजना बसचालकले ती ट्रकका चालकले जानाजान त्यो समूहमा लगेर ट्रक ठोकेको र त्यसपछि फर्केर घाइतेहरुमाथि गाडी चलाएको बताएका छन्।

आक्रमणकारी पुर्वी जेरुसलेमको एउटा अरब इलाकाको बासिन्दा भएको इजरेलका प्रहरी प्रमुख रोनी अलशेइखले पत्रकारहरुलाई बताएका छन्।

हमलाको श्रृंखला

पर्खालले घेरिएको जेरुसलेमको पुरानो शहर देखिने लोकप्रिय आर्मोन हनात्जिभ सडकमा त्यो आक्रमण भएको थियो।

त्यो पछिल्लो घटनाभन्दा अघि सन् २०१५ यता प्यालेस्टिनीहरु र इजरेली अरबहरुले चक्कु, बन्दुक र सवारीसाधन प्रयोग गरेर गरेको आक्रमणमा परेर ३५ इजरेलीहरु मारिएका थिए।

त्यसै समयावधिमा २०० भन्दा बढी प्यालेस्टिनीहरुपनि मारिएका छन्।

इजरेलले ती प्यालेस्टिनीहरुमध्ये धेरैजसो आक्रमणकारी भएको बताएको छ।

दोषारोपण

इजरेलले प्यालेस्टाइनलाई हिंसा भड्काएको आरोप लगाएको छ।

प्यालेस्टिनी नेतृत्वले भने दशकौंदेखिको इजरेली अतिक्रमण प्रतिको कुण्ठालाई दोष दिएको छ।

जेरुसलेम स्थित बीबीसीकी योलाण्ड नेल भन्छिन, "पछिल्ला महिनामा आक्रमणहरुको संख्या घटिरहेको थियो।"

तर आइतबारको घटना सबैभन्दा गम्भीर घटना मध्येको मानिएको छ।