टर्कीमा संविधान संशोधनमाथि बहस

  • 9 जनवरी 2017
एर्दोआन तस्वीर कपीराइट AP

टर्कीको राजधानी अंकारास्थित संसदमा संविधान संशोधन गर्ने विषयमा बहस भइरहेको छ, जस अन्तर्गत राष्ट्रपति रेजेप तय्यप एर्दोआन राष्ट्रपति पदलाई कार्यकारी बनाउन चाहन्छन्।

सत्तारुढ एके पार्टी र चरम दक्षिणपन्थी एमएचपीले समर्थन गरेको त्यो प्रस्तावमाथि दुई हप्तासम्म बहस हुनेछ।

प्रस्तावले संसदमा बहुमत पाएमा त्यस विषयमा जनमत संग्रह हुनेछ।

त्यस्तो परिवर्तनले उनको बाँधिएको हात खोलिदिने र उनले टर्कीलाई अघि बढाएर अस्थिर संसदीय गठबन्धनहरुबाट बचाउने राष्ट्रपतिले बताएका छन्।

विरोध

सदनबाहिर परिवर्तनको विरोधमा प्रदर्शन गरिरहेका मानिसविरुद्ध प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेका छन्।

सरकारले त्यसलाई टर्कीमा राजनीतिक अस्थिरता अन्त्य गर्ने एउटा तरिका भनेको छ भने विपक्षीले त्यसलाई अधिनायकत्वलाई मान्यता दिने कदम भनेको छ।

त्यो संशोधन स्वीकृत भएमा टर्की संसदीय गणतन्त्रबाट राष्ट्रपति सर्वोच्चताको गणतन्त्रमा परिणत हुनेछ।

प्रस्तावित परिवर्तनहरु

संशोधनले प्रधानमन्त्रीको पद हटाएर राष्ट्रपतिलाई प्रमुख कार्यकारी बनाउने छ।

राष्ट्रपति एर्दोआनलाई मन्त्रीमण्डल नियुक्त गर्ने, बजेट स्वीकृत गर्ने, अधिकांश न्यायाधीशहरु छान्ने र केही कानुनलाई विशेषाधिकार प्रयोग गरेर लागू गर्ने लगायतका थुप्रै नयाँ अधिकार दिनेछ।

स्वतन्त्र न्यायपालिका र प्रेस जस्ता शक्ति सन्तुलनका उपायहरु नरहेको अवस्थामा देशमा राष्ट्रपतिको अधिनायकवाद झन् बढ्ने विपक्षीको भनाई छ।

सम्भावना

सत्तारुढ एके पार्टीले चरम दक्षिणपन्थीहरुको समर्थन जुटाउने अपेक्षा गरिएको छ।

यदि त्यसो भएमा र ५५० मध्ये कम्तिमा ३३० सांसदले त्यो प्रस्ताव स्वीकृत गरेमा प्रस्तावमाथि आगामी वसन्त ऋतुमा जनमत संग्रह हुनेछ।

त्यसै संशोधनका लागि राष्ट्रपति एर्दोआनले आफ्नो प्रतिष्ठा र नामको पनि जोखिम मोलेका छन्।

सुरक्षामा ठुला चुनौती र कमजोर अर्थतन्त्र जस्ता समस्याहरुको सामना गरिरहेको टर्कीमा राष्ट्रपतिका लागि त्यो सजिलो भने छैन।