अब प्रधानमन्त्री, मन्त्रीलाई सांसदको प्रश्नोत्तर

  • 10 जनवरी 2017
संसद

प्रधानमन्त्री तथा मन्त्रीसंग, सांसदहरुले सोध्ने प्रश्नोत्तर सम्बन्धी कार्यको शुरुवात प्रधानमन्त्रीसंगको प्रश्न उत्तरबाट गरिने सभामुख ओनसरी घर्तीले बताएकी छन्।

झन्डै डेढ महिना लामो अवरुद्ध संसद सोमबार शुरु भएपछि प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धी आन्तरिक कार्यविधि २०७३ पारित भएको थियो।

उक्त कार्याविधि सञ्चालनमा आएसंगै मन्त्री तथा सांसदहरुको जनताप्रतिको उत्तरदायित्व बढ्नसक्ने विश्वास कतिपयले गरेका छन्।

प्रत्यक्ष प्रसारण

प्रधानमन्त्री, मन्त्री र सांसदलाई जनताप्रति प्रत्यक्ष जिम्मेवार बनाउने ठानिएको संसदको उक्त प्रश्नोत्तरको कार्यक्रम टेलिभिजनमा प्रत्यक्ष प्रसारण हुने संसद सचिवालयले जनाएको छ।

प्रश्नोत्तरका लागि प्रधानमन्त्रीलाई प्रत्येक महिनाको दोस्रो आइतबार तथा अन्य मन्त्रीहरुलाई प्रत्येक महिनाको दोस्रो र चौथो बुधबार दुई घण्टाको समय निर्धारण गरिएको जनाइएको छ।

सोमबार संसदमा कार्याविधि अनुमोदन भएपछि त्यसको शुरुवात प्रधानमन्त्रीबाट गरिने सभामुख ओनसरी घर्तीले बताइन्।

उनले भनिन्, "संसदमा कस्तो प्रकारका प्रश्न आँउछन् र कुन विषयमा आँउछन् अनि ती कुन मन्त्रालय अन्तर्गत पर्दछन् भन्ने कुराले मन्त्रीहरुको प्रश्नोत्तर निर्धारण गर्दछ। हामीले यसको शुरुवात प्रधामन्त्रीबाट गर्ने भनी उहाँसंग कुराकानी गरिसकेका छौं।"

जबाफदेही

संसदमा यसअघि सांसदहरुले शून्य समय वा विशेष समय लिएर प्रश्नहरु राख्ने गरेपनि सम्बन्धीत मन्त्रीहरुको त्यसमा जवाफदेहीता नदेखिएकोले प्रश्नोत्तरमार्फत प्रधानमन्त्री, मन्त्री र सांसद गरी सबै पक्ष जनताप्रति प्रत्यक्ष जवाफदेही हुने सरकारको विश्वास छ।

सरकारका प्रवक्ता एवम् सूचना तथा संचार मन्त्री सुरेन्द्र कार्कीले भने, "जनताले उनीहरुको प्रतिनिधिले प्रधानमन्त्री वा मन्त्रीसंग उनीहरुको सरोकारको विषयमा प्रश्न गरेको वा नगरेको वा उदासीन रहेको भन्ने देख्न पाउने भए। यसले गर्दा उनीहरुमा नैतिक जबाफदेहीता बढ्छ।"

पारित कार्याविधि अनुसार प्रश्न सोध्न चाहने सांसदले आफ्नो प्रश्न संसद सचिवालयमा दर्ता गर्नुपर्नेछ।

बढीमा २० वटा प्रश्न र एउटा बैठकमा दुई जना मन्त्रीसंग मात्र प्रश्न सोधिने व्यवस्था गरिएको बताइएको छ।

कुनै कारणवश सो दिन बैठक बस्न नसके त्यसपछि लगत्तै बस्ने बैठकमा समय दिइने व्यवस्था कार्याविधिले गरेको छ।