प्राधिकरणमा 'दुर्भाग्यपूर्ण' राजनीतिक चलखेल

  • 11 जनवरी 2017
गोबिन्द पुनर्निर्माण
Image caption डाक्टर गोबिन्द पोखरेलले दोश्रोपटक पुनर्निर्माणको जिम्मेवारी सम्हाल्दै छन्

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई बर्खास्त गरेर सरकारले पुनर्निर्माण हेर्ने पहिलो जिम्मा पाएका डा. गोबिन्द पोखरेललाई दोश्रोपटक जिम्मेवारी दिएको छ।

ज्ञवालीलाई हालै दुईपटक स्पष्टीकरण सोधेर बर्खास्त गरेपछि भूकम्पका कारण रातारात घरबारविहीन हुन पुगेका करिब साढे सात लाख घरपरिवारलाई सक्दो छिटो घर बनाउन सहयोग गर्न महत्वपूर्ण भूमिका खेल्नुपर्ने पुर्ननिर्माण प्राधिकरणमा राजनीतिक चलखेल गर्नु दुर्भाग्यपूर्ण भएको भन्दै पूर्व प्रशासकहरुले असन्तुष्टि जनाएका छन्।

भूकम्प पछिको पुनर्निर्माण जस्तो गम्भीर विषयलाई नेताहरुले बुझ्न नसकेको उनीहरुको भनाइ छ।

एक वर्ष अघिको पुषमा सरकार एमालेको नेतृत्वमा आउने बित्तिकै नेपाली कांग्रेस निकट गोविन्द पोखरेललाई विस्थापित गर्दै एमाले निकट सुशील ज्ञवाली प्राधिकरण प्रमुख बनेका थिए।

'दुर्भाग्यपूर्ण'

सरकार पुन: बदलिएको छ र वर्षदिन अघिको बदला लिए झैं ज्ञवालीलाई विस्थापित गरेका छन् उनै गोबिन्द पोखरेलले।

भूकम्पमा परेर रातारात घरबारविहीन बन्न पुगेका लाखौं नेपालीहरु दोश्रो हिउँद अस्थायी टहराहरुमा कठ्याङ्ग्रिएर बिताउँदै छन्।

बनाउनुपर्ने करिब साढे सातलाख घरको आठ प्रतिशत अर्थात ६० हजार मात्र घर पुनर्निर्माण हुन सकेको प्राधिकरणको वेबसाइटको पछिल्लो विवरणमा जनाइएको छ।

लाखौंको घर बनाउन प्रभावकारी भूमिका खेल्नुपर्ने प्राधिकरणको नेतृत्व बारम्बार फेरिनु दुर्भाग्पूर्ण भएको पूर्व प्रशासक द्वारिकानाथ ढुंगेलले बताए।

उनले भने, "दुर्भाग्य हाम्रो देशको प्राधिकरणमा व्यक्ति दुईजना, तर तेश्रोपटक चलाइँदैछ। यो भूकम्पबाट प्रभावित व्यक्तिहरुसँग खेलवाड हो। देशको इज्जतसँग खेलबाड हो, के भन्नु?"

सरकारले ज्ञवालीले प्रभावकारी काम गर्न नसकेको आरोप लगाएको छ।

समाधान

तर व्यक्तिको परिवर्तनले मात्रै समस्या समाधान नहुनेअर्का पूर्व प्रशासक भोजराज पोखरेलले बताए।

उनले भने, "व्यक्तिको परिवर्तनले मात्रै समस्याको निराकरण गर्छ जस्तो लाग्दैन। मूल कुरा त सबै तदनुरुप उन्मुख हुनुपर्यो। र हाम्रा प्रक्रिया र प्रणालीहरु पीडितको लागि छिटो सेवा दिन सक्ने किसिमका हुनुपर्यो।"

पुनर्निर्माणको गम्भीरता बुझेर शुरुमै सक्षम नेतृत्व खोजिनुपर्ने पनि पोखरेलले बताए।

उनले भने, "व्यक्तिको प्रभावकारिता, व्यक्तिको साख र व्यक्तिको हैसियतले धेरै संस्थाको काम कारवाही लाई असर गर्छ। प्रणाली पनि चुस्त भएन, इमर्जेन्सीमा काम गर्नुपर्नेमा नियमित प्रक्रियामा लगियो।"

सरकारले ज्ञवालीलाई हटाउनु अघि प्रक्रिया पुर्याउन दुईपटक स्पष्टीकरण सोधेको थियो।

काम गर्न नसकेको भनि बुधबार बर्खास्त गरिएका ज्ञवालीले दोश्रो स्पष्टीकरणमा पाकिस्तानमा गएको भूकम्पपछिको पुनर्निर्माणको पाँच वर्षमा करिब चार लाख २९ हजार घर निर्माण सम्पन्न भएको र गुजरातको भुजमा पाँच वर्षमा दुईलाख जति घर निर्माण सम्पन्न भएको उल्लेख गर्दै नेपालमा पाकिस्तान र गुजरातको भुज र इण्डोनेशियाको भन्दा राम्रो काम भइरहेको जिकिर गरेका थिए।

विफलता

त्यसैगरी ज्ञवालीले आफ्नो स्पष्टीकरणमा सरकारले कर्मचारी सरुवा गरिदिएको, भनेको समयमा रकम उपलब्ध नगराएको लगायतका कुराहरु उल्लेख गरेका थिए।

प्राधिकरणले काम गर्न नसक्नुमा व्यक्तिभन्दा प्रणालीको विफलता देखिएको पूर्व प्रशासक ढुंगेलले बताए।

उनले भने, "काम एक्लैले गरेर गरिने होइन। राज्य यन्त्रले नै सहयोग गर्नुपर्ने हो। प्रणालीले नै काम गर्न नसकेको देखियो।"

खासमा शुरुदेखि प्राधिकरणमा 'हाम्रो' भन्दा राम्रो र सक्षम व्यक्ति ल्याउनुपर्ने माग उठेको थियो।

जानकारहरु भन्छन्, यदि शुरुमै दलीय सहमतिमा कुनै मापदण्ड बनाएर प्रमुख चयन गरिएको भए निश्चित रुपमा सरकार फेरिने बित्तिकै कार्यकारीको टाउकोमा तरबार झुण्डिइरहने परिस्थिति बन्ने थिएन र पीडितहरुमाथि दलीय चलखेलको मार थपिने थिएन।