द गाम्बियाका राष्ट्रपति निर्वाचित मालीमा

  • 14 जनवरी 2017
नाइजेरियाका राष्ट्रपति बुहारीलाई स्वागत गर्दै द गाम्बियाका राष्ट्रपति जाम्मे तस्वीर कपीराइट Reuters

द गाम्बियामा राष्ट्रपति याह्य जाम्मेलाई पदत्याग गर्न मनाउनका लागि गरिएको वार्ता असफल भएपछि राष्ट्रपति निर्वाचित अडामा ब्यारो माली पुगेका छन्।

ब्यारो अहिले माली पुगेका छन् जहाँ उनले एउटा शिखर सम्मेलनमा अरु अफ्रिकी देशका नेताहरुलाई भेट्दैछन्।

आगामी हप्ता ब्यारोले शपथ ग्रहण गर्ने योजना भएकोले उनी त्यो संक्रमणकालीन गतिरोध हटाउन चाहन्छन्।

राष्ट्रपति जाम्मेको कार्यकाल आगामी बिहीबार सकिनेछ।

मान्यता

त्यसपछि उनको शासनलाई मान्यता नदिने अफ्रिकी संघले बताएको छ।

सम्झौतामा सहजीकरण गर्नका लागि नाइजेरियाका राष्ट्रपति मुहम्मदु बुहारी बाञ्जुल पुगेका थिए तर जाम्मेले शक्ति छोड्न मानेनन्।

शक्ति हस्तान्तरण शान्तिपूर्ण रुपमा नहुँदाको नतिजालाई लिएर त्यो क्षेत्र त्रसित छ।

१५ वटा पश्चिम अफ्रिकी देशहरु रहेको इकोवासले बुहारीको टोलीको संयोजन गरेको छ।

जाम्मेले पदत्याग गर्न नमानेमा सैनिक शक्तिको प्रयोग गर्न सक्ने इकोवासले बताएको छ।

गत डिसेम्बर महिनाको निर्वाचनपछि जाम्मेले शुरुमा पराजय स्वीकार गरेका थिए।

तर पछि उनले निर्वाचनको नतीजा बदर गर्ने आह्वान गरे।

५१ वर्षीय जाम्मेले सन् १९९४ मा देशको सत्ता हत्याएका थिए।

चिन्ता

नियमति रुपमा निर्वाचन गराइराखे पनि उनीमाथि मानव अधिकार दुरुपयोगका आरोप लाग्दै आएका छन्।

जाम्मेका एकजना वकिलले ब्यारोको शपथग्रहण रोक्ने आदेशको माग गर्दै मंगलबार सर्वोच्च अदालतमा रिट निवेदन हालेका थिए।

तर न्यायाधीशको कमीका कारण सर्वोच्च अदालतले आगामी मे महिनासम्म त्यो निवेदनमाथि कुनै कदम चाल्न सक्दैन।

त्यो अनिश्चितताले थुप्रै मानिसलाई शरणार्थी बनाउने चिन्ता बढिरहेको छ।

हजारौं गाम्बियनहरु सिमाना कटेर सेनेगल र गिनी-बिसौ पुगिसकेको अधिकारीहरु बताउँछन्।

तीमध्ये धेरैजसो महिला र बालबालिका छन्।

गत डिसेम्बर महिनामा भएको निर्वाचनमा ब्यारोले ४३ दशमलव ३ प्रतिशत मत पाएका थिए भने जाम्मेले ३९ दशमलव ६ प्रतिशत ल्याएका थिए।