‘मिलेमतोका कारण पनि सुन तस्करी’

  • 16 जनवरी 2017
सुन तस्वीर कपीराइट Nepal Police

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले प्रवेशबिन्दुमा सुरक्षा जाँच गर्ने अत्याधुनिक उपकरणको अभावका कारण पनि सुन तस्करहरुले नेपाली बाटोलाई सहजरुपमा लिएको हुन सक्ने बताएको छ।

झण्डै ३४ किलो अवैध सुन बरामदको घटनाबारे अनुसन्धान गरिरहेको सिआइबीका एकजना वरिष्ठ प्रहरी अधिकारीले सुन तस्करीमा विभिन्न पक्षको मिलेमतो हुन सक्ने अनुमानमा अनुसन्धान भइरहेको पनि बीबीसीलाई बताए।

प्रहरीका अनुसार पछिल्ला दुई साताभित्र काठमाण्डूमा करिब ३४ किलो र १५ किलो गरी दुईपटक अवैध सुन बरामद गरिएको छ।

सिआइबीका निर्देशक प्रहरी नायब महानिरीक्षक नवराज सिलवालका अनुसार विभिन्न पक्षको मिलेमतो बिना त्यति ठूलो परिमाणमा सुन तस्करी सम्भव नहुन सक्छ।

कारण

१० दिनअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै ३४ किलो अवैध सुन बरामद गरिएको थियो जसको बजार भाउ झण्डै १५ करोड रुपैयाँ हुन आउँछ।

त्यसको केही दिन नबित्दै राजधानीकै बालाजु क्षेत्रबाट १५ किलो अवैध सुन बरामद गरिएको थियो।

लगालग त्यति ठूलो परिमाणमा सुन तस्करीको घटना हुनुको कारणबारे सिआइबीका निर्देशक सिलवालले भने, "हाम्रा सीमाहरुमा हामीले नियन्त्रणका लागि चाहिने उपकरण, त्यो विज्ञता, त्यो क्षमता र प्रणाली हामीले राख्न नसकेकाले पनि जोखिम चाहिँ कम देखेर उनीहरुले नेपाललाई प्रयोग गरेको हुन सक्छ।"

भारु पाँच सय र हजारको नोट नचल्ने भएपछि भारतीयहरुले सुन खरिद गरेर सञ्चित गर्न खोज्ने प्रवृतिका कारण पनि नेपाली बाटो भएर भारतमा अवैध रुपमा सुन तस्करी गर्न खोजिएको हुन सक्ने प्रहरीको अनुमान छ।

सिआइबीले सुन तस्करीमा ठूला संगठित समूहको हात हुन सक्ने जनाएको छ।

सम्भावना

सुन तस्करीका घटनामा हालसम्म भरियामात्रै पक्राउ गर्न सकेको प्रहरीले प्रारम्भिक अनुसन्धानमा के फेला पारेको छ त?

जवाफमा सिआइबीका निर्देशक सिलवालले भने, "संगठित रुपमा एउटा समूह मिलेर गरेजस्तो देखिन्छ। केही संख्यामा मान्छेहरु त्यो समूहमा छन्, यसमा ठूलै लगानी गर्न सक्ने क्षमता भएका मानिसहरु संलग्न भएको हुन सक्ने हाम्रो विश्वास छ।"

तर सुन तस्करीमा संलग्नताको हरेक सम्भावनाबारे अनुसन्धान गरिने सिआइबीले जनाएको छ।

सिआइबीका निर्देशक सिलवाल भन्छन्, ठूलो मात्रामा सुन तस्करीका पछिल्ला घटनालाई हामीले गम्भीर रुपमा लिएका छौँ र त्यसमा संलग्न पक्षबारे सत्यतथ्य छिट्टै बाहिर ल्याउनेछौँ।