ट्रम्पका टिप्पणीप्रति कडा प्रतिक्रिया

  • 16 जनवरी 2017
डोनल्ड ट्रम्प तस्वीर कपीराइट Reuters

जर्मन चान्सलर एंगेला मर्केलले युरोपेली एकता नै अमेरिकी राष्ट्रपति निर्वाचित डोनल्ड ट्रम्पका टिप्प्णीप्रतिको सबभन्दा राम्रो प्रतिक्रिया भएको बताएकी छिन्।

ब्रिटेनको इयु छोड्ने निर्णयको प्रशंसा गर्दै ट्रम्पले इयु ध्वस्त हुन लागेको बताएका थिए।

र सन् २०१५ यता १० लाख आप्रवासी भित्रिन दिने जर्मनीको निर्णयलाई भयंकर गल्ती भनेका थिए।

प्रतिक्रियामा एंगेला मर्केलले भनिन् "आतंकवाद सबै देशहरुको लागि ठूलो चुनौती हो र जर्मनी पनि त्यसबाट पीडित छ। तर आतंकवादको शरणार्थीहरुसंग कुनै सम्बन्ध छैन।"

कडा प्रतिक्रिया

ट्रम्पका टिप्पणीप्रति बर्लिनमा असन्तुष्टि देखिएको छ तर त्यसलाई अप्रत्याशित भने मानिएको छैन।

जर्मन चान्सलेर एंगेला मर्केलको अमेरिकी राष्ट्रपति बराक ओबामासंगको न्यानो राजनीतिक सम्बन्ध डोनल्ड ट्रम्पसंग पनि कायम रहने कमैले अपेक्षा गरेका थिए।

ओबामा मर्केलको शरणार्थीसम्बन्धी नीतिका प्रखर समर्थक थिए।

ट्रम्पले भने त्यो नीतिको आलोचना गरेपछि जर्मन उप चान्सलर सिग्मार गेब्रियलले मध्यपूर्वमा अमेरिकी हस्तक्षेपकै कारण शरणार्थी समस्या शुरु भएको भन्दै कडा प्रतिक्रिया दिएका छन्।

ट्रम्पका धम्कीहरु

अमेरिकी राष्ट्रपति निर्वाचित ट्रम्पले जर्मन कार उत्पादन उद्योगलाई पनि निशाना बनाएका छन्।

तर आयातित कारमाथि ३५ प्रतिशत कर लगाउने उनको धम्कीलाई संसद्ले भने समर्थन नगर्ने धेरैको अनुमान छ।

ट्रम्पको इयु र नेटो प्रतिको तिरस्कारबारेमा भने धेरै चिन्ता देखिएको छ।

नेटोका २८ सदस्य राष्ट्र मध्ये थुप्रैले तिर्नुपर्ने पैसा नतिरेको र उनीहरुलाई सुरक्षा दिनुपर्दा अमेरिकालाई अन्याय भएको ट्रम्पले बताएका छन्।

एकतामा जोड

नेटोलाई 'धेरै धेरै वर्षअघि स्थापना भएको' भन्दै उनले त्यसले आंतकवादको समस्या समाधान नगरेको हुनाले त्यो व्यर्थ भएको टिप्प्णी गरेका छन्।

नेटोलाई 'म्याद गुज्रिसकेको समूह' भनेर ट्रम्पले आफ्नै रक्षामन्त्रीको भनाईलाई खण्डन गरेको जर्मन विदेशमन्त्रीले बताएका छन्।

ट्रम्पले रक्षामन्त्रीको पदका लागि मनोनयन गरेका जनरल जेम्स म्याटिसले गत हप्ता नेटोलाई अमेरिकी सुरक्षाका लागि अति महत्वपूर्ण भनेका थिए।

ट्रम्पका ती टिप्प्णीहरुपछि फ्रान्सका विदेशमन्त्रीले युरोपेली एकता नै ट्रम्पप्रतिको सबभन्दा राम्रो प्रतिक्रिया भएको बताएका छन्।