कवि माधव घिमिरेसंगको अन्तर्वार्ता
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

कवि माधवप्रसाद घिमिरेसंगको अन्तर्वार्ता

  • 21 जनवरी 2017

जीवनको उत्तरार्द्धमा सकारात्मकता र उत्साहका कविता लेखिरहेका कवि माधव प्रसाद घिमिरे जीवनको उपलब्धी भने प्रेमलाई मान्दछन्।

काठमाण्डूको लाजिम्पाटस्थित उनको निवासमा राष्ट्रकवि माधवप्रसाद घिमिरे सबै आगन्तुकहरुसँग विनम्रताका साथ भेटिरहेका हुन्छन्।

वि. सं. १९७६ सालमा जन्मेका घिमिरे ९८ वर्षको उमेरमा पनि आफैंसँग गुनगुनाउँदै गीत लेखिरहेका हुन्छन्।

यो सक्रियता र ऊर्जाको रहस्य सोध्दा उनले प्रतिप्रश्न गरे, "मेरो उमेर कति हो थाहा छ? सय वर्ष पुग्न दुई वर्ष त बाँकी हो नि।

पहाडमा यति लामो बाँच्ने पनि कोही देखेको थिइनँ र आफू बाँचौंला भन्ने पनि सोचेको थिइनँ। तपाईं जस्तो छक्क परेर मलाई सोध्नुहुन्छ, म पनि आफैं छक्क परेको छु।"

प्रकृतिको साथ

आफ्नो दीर्घजीवनको श्रेय उनी दिन्छन् प्रकृति र सद्विचारलाई।

"काठमाण्डू जस्तो शहरमा पनि म यस्तो खुला ठाउँमा बसेको छु, फूलहरु, चराहरुको बीचमा," उनी भन्छन्।

कविताको बारेमा सोच्दासोच्दै अर्थोक सोच्ने फुर्सदै नपाएको बताउँछन् उनी।

"कसैको बारेमा मैले कुविचार गरें भने त्यसको छाँया ममा पर्छ र त्यसले मलाई खलबल गर्छ। अहिले उमेरमा पनि त्यो श्रृजनाको कुरा छँदैछ।"

नयाँ महाकाव्य

सद्विचारकै बारेमा महाकाव्य लेख्दैछन् उनीः ऋतम्भरा।

ऋतम्भराको प्रेरणा खोज्न भने घिमिरेको इतिहास नै खोतल्नुपर्छ।

"विश्व अणु सन्त्रासले त्रस्त भएको समयमा अणु अस्त्र जस्तै ब्रह्मास्त्र लिएको र त्यसको दुरुपयोग गरेको हाम्रो एउटा पात्र अश्वत्थामालाई लिएर कृति लेखेको थिएँ, "उनी भन्छन्।

"विश्व नकारात्मक पक्षमा गएकोमा खबरदारी गरेको त्यो कृतिले।"

त्यसो भए सकारात्मक बाटो चाहिँ कुन हो त?

अणु सन्त्रासबाट गुज्रिसकेको आधुनिक समाजका चुनौतीहरु उनी देख्छन् प्रविधिमा।

"अहिले प्रविधिले गर्दा मान्छे मान्छेबाट टाढा भए। भावना चाहिँ खत्तम हुँदै गयो— माया, प्रेम, इत्यादि।"

त्यसो भए विश्वका मानिसले जाने बाटो कुन हो त? "अर्को अस्त्र छ", भन्छन् उनी, "हाम्रो हृदयमा।"

कविता

हृदयको भावना र प्रेमलाई इंगित गरेका घिमिरेलाई मन परेको रचना सुनाउने अनुरोध गर्दा पनि उनी श्रृंगार रसकै कविता सुनाउन पुग्छन्।

यो साँझमा आज कोही आउँछ जस्तो लाग्छ।

आउनुपर्ने कोही छैन किन यस्तो लाग्छ।

जहाँ जे छ छायाँ तानी त्यहीं बास बस्यो।

बादलुको ली पनि बादलभित्र पस्यो।

खोल्साबाट सुसाइरहेछ मूलधारा।

त्यहीं सुनेझैं उदाइरहेछ शिखरको तारा।

एक छायाँ उभिइरहेछ कसलाई पर्खी?

बिहानीमा को गयो र साँझ आउँछ फर्की?

मेरो माया आउँदैनौ म कसरी भनूँ?

"यो कविता हेर्नोस्। रोमाण्टिक पनि छ, मिस्टिसिजम पनि छ।

कोही त गएको होइन। तर किन कोही आउँछ जस्तो लाग्यो?

त्यो आशा त कुमारी केटीको हुन सक्छ। प्रेमको अर्थमा त्यो लिनु।

सुनसान भयो साँझमा। तारा उदाइरहेको छ। त्यो वातावरणमा तपाईं जब मजासँग यो गीत गाउनुहुन्छ, त्यसले तपाईंलाई अर्थ दिन्छ।"

लोकगीतको प्रभाव

गेय भाषामा लेखिएका घिमिरेका कविता लोकलयसँग नजिक देखिन्छन्।

हुन पनि उनी आफू जन्मेको लमजुङको पुस्तुनमा लोकगीत सुन्दै हुर्केका थिए र त्यो सरल तर गहन शैलीबाट प्रभावित भएको उनी बताउँछन्।

"पहाडमा यहाँको जस्तो साहित्यको वातावरण, कवि सम्मेल, लाइब्रेरी साइब्रेरी इत्यादि थिएनन्" उनी सम्झन्छन्।

"तर त्यहाँ गीत थियो। छोटो पंक्ति गाएको र मनमा गढ्ने कुरा चाहिँ लोकगीतमा गाइन्छ। अज्ञात तवरले त्यसको प्रभावममा परेको छ।"

जब उनी पढ्न भनेर लमजुङबाट काठमाण्डु आए, तब उनले थाहा पाए, कविता भनेको त उनले पनि लेख्न सक्ने चीज रहेछ।

"कविशिरोमणि लेखनाथ पौड्यालका रचनाहरु पढेपछि मैले थाहा पाएँ, कविता चाहिँ मान्छेले लेख्नेरहेछ भनेर।

देउताको घरबाट आउने कुनै चमत्कारी कुरा होला, प्राकृतिक होला भन्ने लागेको थियो त्यो भन्दा अघि," उनी सम्झन्छन्।

गुन्गुनाउँदै

तर अझै पनि बाल्यकालको लोकलयलाई पछ्याउँदै उनी भाका हालेर गुनगुनाउँदै गीत लेख्न रुचाउँछन्।

"एकान्तमा गुनगुनाएर, आफैंलाई बिर्सेर…. लेख्दा आफ्नै आँखाबाट आँसु झरोस् न। तब पो मजा हुन्छ।

उकुसमुकुस भएर एउटा लेखेर प्रकाशन गर्न दियो, अनि अर्काले अर्थ हालिदिएर राम्रो भन्नु भन्दा, आफूले गम्भीर अर्थ हाल्नपर्छ। अर्काले हेर्दा सामान्य लागेपनि…"

हतारमा कविता प्रकाशन गर्ने पक्षका छैनन् उनी र आफूलाई चित्त बुझेपछि मात्रै छाप्न दिने बताउँछन्।

"त्यो हुनाले सयकडा पचहत्तर चाहिँ मलाई आफ्नै कृतिहरु मन पर्छन्।

आजभोलि देख्दिनँ म तिनी कता गइन्।

राति त्यतै सिरानी हुन्छ तिनी जता गइन्।

अब तपाईं अघिको गीतलाई फ्याँकेर यो गीत लिनुहुन्छ कि के गर्नुहुन्छ?"

एकान्त प्रिय

कविता लेख्ने त्यो नितान्त नीजि प्रक्रिया उनी एकान्तमै पूरा गर्न मन पराउँछन्।

"पहिले पहिले चाहिं राति बसेर लेख्थें। अहिले त बुढो भएँ राति बसेर लेख्न सक्दिनँ।"

त्यसरी नै पहिली पत्नीको वियोगमा 'गौरी' शोककाव्य लेखेको सम्झन्छन् उनी, जुन हालसम्म पनि उनको लोकप्रिय कृति मानिन्छ।

त्यो क्षण अहिलेसम्म पनि बरोबर सम्झनामा आउने उनी बताउँछन्।

"उनको २०-२२ वर्षको उमेर। मेरो २७-२८ वर्षको उमेर।

भर्खर जन्मेका दुइटी छोरी। एउटा डेरा लिएर बसेको।

रातको समयमा १८ दिनसम्म बिरामी भएको। त्यो जाँदाखेरी चाहिँ संसारै डुबेको जस्तो लागेको।

मैले चिताउँदै नचिताएको। अविस्मरणीय क्षण त्यही थियो।"

'अमूल्य जीवन'

तर त्यो क्षणले उनलाई विहव्ल मात्रै तुल्याएन, जीवनको सबभन्दा ठूलो पाठ पनि सिकाएर गयो।

"उनको निधनपछि मलाई के लाग्यो भने जीवन जत्तिको मूल्यवान त केही रहेनछ। यो उज्यालो देख्न पाइयाछ। यो रंग, यो खुला आकाश।"

जीवनलाई फर्केर हेर्दा त्यस्तै मूल्यवान क्षणहरु सम्झन रुचाउँछन् उनी।

कविको संघर्ष

"कवि भएर धेरै मान्छेले दुःख पाइराख्या छन्, आफूले पनि धेरै पाइयो। तर राष्ट्रकविको जुन दिन उपाधि घोषणा भयो, त्यो दिनले खुशी तुल्यायो।"

"जीवनमा केही कोशिश गर्दा केही प्राप्त भयो," ८५ वर्षको उमेरमा दिइएको राष्ट्रकविको उपाधिलाई उनी त्यसरी व्याख्या गर्दछन्।

"पहाडमा दुध र भात खाएर मजासँग खेलेर बसेको मान्छे, सात मोहोर दाम लिएर भागेर पढ्न आइयो। आफैलें दुःख उठाइयो।

तपाईंहरु भन्नुहुन्छ नि त्यो घरको विरह, होमसिकनेस। त्यो भइरहेछ। तर फेरी पढाइ छोड्न पनि नसक्ने।

एक वर्ष दोस्रो भएँ अर्को वर्ष क्लासमा होल फस्ट हुन्थें," उनी गर्वका साथ सम्झिन्छन्।"

यता छोड्न पनि भएन, उता घरको पनि सम्झिराख्या छ। अहिले बुढो भएँ, तर सपनामा देख्दा त्यही घरतिर फर्केको हुन्छु।"

'संसार रमाइलो'

तर पनि 'आफैंले उठाएको त्यो दुःख' प्रति उनलाई कुनै खेद छैन।

"उहीं बसेको भए त एकनासको जिन्दगी हुन्थ्यो। यहाँ आएपछि कविहरु थाहा भो। संसार थाहा भो। राजनीति र नागरिक हक के हो थाहा भो। संसार रमाइलो भो।"

घिमिरेले संसार चिन्ने मात्रै होइन संसारले घिमिरेलाई चिन्ने पनि समय थियो त्यो, जब उनले 'गौरी' र 'अश्वत्थामा' मात्रै होइन,'मालती मंगले' र 'शकुन्तला'जस्ता अनेकौ कविता लेखे, शास्त्रीय छन्दको लोकप्रियता बढाउन मद्दत गरे, प्रज्ञा प्रतिष्ठानको कुलपति पदको जिम्मेवारी सम्हाले, साझा पुरस्कार र त्रिभुवन पुरस्कार जस्ता अनेकौ पुरस्कारबाट विभूषित भए,र राष्ट्रकविको उपाधि पाउँदा कविशिरोमणि लेखनाथ पौड्यालपछि सार्वजनिक अभिनन्दनले सम्मानित हुने पहिलो कवि बने।

तथापि जीवनको मुख्य उपलब्धि भने ती सबै कुरालाई होइन, प्रेमलाई मान्दारहेछन् घिमिरे।

'जीवनको उपलब्धी'

"बिहा भएर श्रीमती लिएर आएको सबभन्दा रमाइलो।

किनभने, एउटा नयाँ मान्छे आफ्नो भनेर आएको छ। फेरि बिताउनु पनि उसैसँग छ जीवन। अचम्मको कुरा छैन त?" उनी सोध्छन।

"त्यो प्रेम चाहिं कस्तो भनेः स्वाभावि-क, प्राकृतिक। हेर्दै पनि आङ सिरिङ्ग हुने, रोमाञ्च हुने।

उसको बोली मीठो…. उसले हेरको…. जम्मै के हो त्यो बर्सेर आएको…त्यहीं हो।

मान्छेले मान्छेलाई प्रेम गरेको, त्यसको बोली, आँखा, सबै चीजले समर्पित भएको, विश्वास भएको, दुइटा आत्मा एउटै भएको, भयो भने त्यो जत्तिको ठूलो केही पनि छैन।"

सदाबहार उत्साह

सद्विचार, श्रृजना र प्रेमको संसारमा रमाइरहेका घिमिरे ९८ वर्षको उमेरमा पनि थाकेका जस्ता देखिंदैनन्, र अन्त्यमा अर्को कविता सुनाउँछन् उत्साहकोः

यो जिन्दगी जति बुझे पनि बुझ्न बाँकी।

नौलो कुरा जति सुझे पनि सुझ्न बाँकी।