‘विद्युत चोरीमा प्राधिकरणकै कर्मचारी संलग्न’

  • 23 जनवरी 2017
विद्युत तस्वीर कपीराइट Reuters

विद्युत चोरीमा संलग्न भएको आरोपमा विद्युत प्राधिकरणका कर्मचारी र व्यापारी गरी १६ जनलाई पक्रेर अनुसन्धान थालेको नेपाल प्रहरीले कारबाही प्रक्रियालाई अझ तीव्र बनाउने बताएको छ।

नेपालमा उपलब्ध कुल विद्युतको एक चौथाइभन्दा बढी विद्युत प्राविधिक र अप्राविधिक रुपमा चुहावट हुने तथ्यका माझ त्यसलाई नियन्त्रण गर्न प्राधिकरणले एउटा समिति बनाएर अनुसन्धान पनि थालेको थियो।

महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार नेपाल विद्युत प्राधिकरणका कतिपय कर्मचारीको टोलीले गाडीमा आवश्यक सबै उपकरणहरु बोकेर ग्राहकको घरघरमा पुगेर विद्युत चोर्नमा सघाउने गरेको भेटिएको हो।

कडाइ

आइतबार प्राधिकरणका वर्तमान र पूर्व कर्मचारी गरी १२ जना तथा चारजना व्यापारीलाई पक्राउ गरेको प्रहरी अपराध महाशाखाले प्रारम्भिक अनुसन्धानमा चोरीको गिरोहको आकार अझ ठूलो हुन सक्ने जनाएको छ।

महाशाखाका प्रमुख सर्वेन्द्र खनालले भने, "अहिलेसम्मको प्रारम्भिक अनुसन्धानमा केही कलकारखाना, केही उद्योगहरु पनि चोरीमा संलग्न भएको देखिन्छ। यसभन्दा बाहेक बाँकी अरुपनि छन्। तिनीहरुलाई हामी जतिसक्दो चाँडो कानुनको दायरामा ल्याउँछौं।"

नेपाल विद्युत प्राधिकरणका अनुसार नेपालमा हाल उपलब्ध कुल विद्युतको करिब २६ प्रतिशत विद्युत चुहावट हुने गर्दछ।

त्यसमा १२ प्रतिशत प्राविधिक तथा १४ प्रतिशत भन्दा बढी अप्राविधिक हुने गरेको छ।

कमसल खालको विद्युतीय सामाग्री गर्दा हुने चुहावट प्राविधिक हो।

मिटरमा कम खपत देखाउने गरी विद्युत चोरी भए त्यो चाहिँ अप्राविधिक चुहावटमा पर्छ।

प्रयास

चोरी नियन्त्रण गर्न उर्जा मन्त्रालयले छुट्टै समिति पनि गठन गरिएको छ।

चोरी नियन्त्रणको अहिले थालिएको अभियानमा नेपाल विद्युत प्राधिकरण र उर्जा मन्त्रालयले सघाएको पनि प्रहरीले जनाएको छ।

पक्राउ गरिएकाहरुलाई ठगी मुद्दा लगाइएको छ।

तर उनीहरुलाई विद्युत चोरी ऐन जस्ता आवश्यक ऐन अन्तर्गत कारबाही अगाडि बढाउन सक्ने महाशाखा प्रमुख तथा एसएसपी खनाल बताउँछन्।

उनले भने, "यसमा धेरै पक्षको संलग्नता भएकोले एकैथरी कानुनबाट सम्बोधन नहुन सक्छ। तर सबैजना ठगीसँग सम्बन्धित हुने भएकोले यो कानुनले समेट्छ। त्यही अनुरुप नै हामीले अनुसन्धान शुरु गरेका छौं"।

विद्युत चोरी गर्नेमा सर्वसाधारण उद्योगीहरु र व्यापारीहरु रहेको बताइएको छ।

विद्युतको चोरी र चुहावट रोक्ने भनिदैं आएपनि हालसम्म त्यो प्रभावकारी देखिएको छैन।