टीपीपी सम्झौताबाट बाहिरिने ट्रम्पको निर्णय

  • 24 जनवरी 2017
ट्रम्प तस्वीर कपीराइट Getty Images

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एउटा व्यापार सम्झौता ट्रान्स-प्यसिफिक पार्टनरशिप (टीपीपी)बाट बाहिरिने कार्यकारी निर्णयमा हस्ताक्षर गरेर आफ्नो चुनावी अभियानका क्रममा जनाएको प्रतिबद्धता पुरा गरेका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको बाँकी विश्वसँगको अमेरिकी सम्बन्धबारे एउटा निर्णायक परिवर्तन गरेर उनले भने जस्तै गरी आफ्नो पहिलो बास्तविक दिन कार्यालयमा बिताएका छन्।

उनले यो सम्झौतासँगै प्रशान्त महासागरले छोएका देशहरुसँगको खुल्ला व्यापार सम्झौताबाट बाहिरिने निर्णय गरेका छन्।

१२ राष्ट्र सम्मिलित उक्त व्यापार सम्झौता पूर्व राष्ट्रपति बराक ओबामाको सर्वाधिक महत्वपूर्ण एशिया नीति थियो।

प्रतिवद्धता

एउटै हस्ताक्षरमार्फत टिपिपि सम्झौता तोड्दै ट्रम्पले आफूले भर्खरै गरेको काम अमेरिकी श्रमिकहरुका लागि महान भएको बताए।

विभाजित अमेरिकी संसदले सम्झौतालाई अनुमोदन नगरिसकेकाले ट्रम्पको कार्यकारी आदेश धेरै हदसम्म सांकेतिक छ।

राष्ट्रपतिका प्रवक्ता शन स्पाइसरले भने, "राष्ट्रपतिले धेरैपटक भनेजस्तै यस्तो खालको बहुराष्ट्रिय सम्झौता हाम्रो सर्वोत्तम हितमा छैन र उनी व्यापार नीतिलाई बलियो बनाउन छिट्टै लागि पर्नेछन् जसले अमेरिकी कामदार र उत्पादनकर्ताको प्रतिस्पर्धालाई बढाउनेछ।"

उनले आफ्नो चुनावी अभियानका क्रममा टिपिपि सम्झौताले अमेरिकी उत्पादनलाई असर गरेको तर्क गर्दै त्यो देशका लागि सम्भावित संकट भएको भनि आलोचना गरेका थिए।

तस्वीर कपीराइट Reuters

उद्देश्य

उक्त सम्झौताले विश्व अर्थतन्त्रको ४० प्रतिशत हिस्सा समेट्छ जुन सम्झौताका लागि अमेरिका, जापान, मलेशिया, अष्ट्रेलिया, न्यूजिल्याण्ड, क्यानडा र मेक्सिकोसहितका देशहरुले सन् २०१५ मा वार्ता गरेका थिए।

सन् २०१६ को फेब्रुअरीमा सम्झौता भएको टिपिपिको घोषित उद्देश्य शुल्क घटाउने, आर्थिक सम्बन्ध बलियो बनाउने र बृद्धिलाई बढावा दिने थियो।

जसमा श्रम लागू, वातावरणीय मापदण्ड, प्रतिलिपि अधिकार र अन्य कानुनी संरक्षणहरुका उपाय समावेश गरिएका छन्।

यो सम्झौतालाई अमेरिकी व्यापारिक क्षेत्रले व्यापक रुपमा समर्थन गरेको थियो।

र, यसलाई सम्भवत युरोपेली संघ जस्तै एकल बजार बनाउन श्रृजना गरिएको थियो।