कर्णालीमा औषधिको 'चरम अभाव’

  • 24 जनवरी 2017
औषधि

कर्णालीको मुगु, कालिकोट र हुम्ला लगायतका जिल्लाका स्वास्थ्य संस्थामा औषधिको चरम अभाव हुँदा बिरामीको उपचारमा समस्या भएको स्थानीय बासिन्दा र त्यहाँस्थित सरकारी अधिकारीहरुले बताएका छन्।

नेपाल सरकारद्धारा वितरण गरिने नि:शुल्क औषधि समेत नरहेको उनीहरु बताउँछन्।

मुगु जिल्लाको रारा, कालै, धैनकोट, भी, खेतु, नार्थपु, जिमा लगायतका गाविसमा औषधि अभाव भएको त्यहाँका स्थानीय बासिन्दाले बताएका छन्।

सदरमुकाम गमगढीभन्दा टाढा रहेका गाविसका स्वास्थ्य संस्थामा नियमित रुपमा स्वास्थ्यकर्मी नबस्ने र स्वास्थ्यकर्मी भएकै ठाउँमा पनि औषधिको अभावले सामान्य उपचारमा समेत समस्या भएको उनीहरु बताउँछन्।

बाध्यता

मुगु जिल्लाको धैनकोट गाविसका जयकर्ण मल्ल भन्छन्, "एक त डाक्टर हुँदैनन्। भइहाले पनि औषधि पाइँदैन। औषधि अभावले कतिपयको ज्यान समेत गएको छ"।

सरकारी स्वास्थ्य संस्थामा औषधि अभावका कारण कतिपय बिरामी निजी औषधि पसलहरुमा गएर अन्धाधुन्ध उपचार गराइरहेका भेटिन्छन्।

कतिपय चाहिँ बाध्य भएर घरेलु उपचार गरिरहेको बताउँछन्।

मुगुमा मात्रै नभइ कर्णालीका अन्य जिल्ला कालिकोट हुम्लामा पनि औषधि अभाव भएको बताइएको छ।

मुगुको कोटडाँडा गाविस अर्का स्थानिय बासिन्दा पवित्रा देवकोटा भन्छिन्, "आइरन चक्की, सिटामोल पनि छैन। रुघाखोकी वा झाडापखाला लाग्दा खानुपर्ने औषधि पनि छैनन्। त्यही भएर हामी घरमै जसोतसो उपचार गर्न बाध्य छौं"।

प्रक्रिया

बिरामीका यस्ता गुनासोमाझ जिल्ला स्वास्थ्य कार्यालयले चाहिँ पछिल्लो समय १८ लाख रुपैँया बराबरको औषधिको बोलपत्र भएर प्रक्रिया अघि बढेपनि समयमा औषधि आइ नपुगेको जनाएको छ।

सदरमुकामभन्दा टाढाका गाविसमा औषधि अभाव भएको विषयमा गुनासो आएको हुनाले तत्काल सम्बोधन गर्नको लागि जिल्लामा उपलब्ध भएको औषधि पठाउने काम भइरहेको उक्त कार्यालयका सूचना अधिकारी पशुपति शाहीले बताए।

जिल्ला सदरमुकाममा पनि औषधिको अभाव देखिएको भन्ने गुनासा आफ्नो कार्यालयमा आएको स्वास्थ्य सेवा विभाग अन्तर्गतको औषधि आपूर्ति व्यवस्था महाशाखाले जनाएको छ।

अहिले कर्णालीका र अन्य कतिपय जिल्लामा १८ प्रकारको औषधि अभाव भएको स्वयम् महाशाखाकै अधिकारीहरु स्वीकार्छन्।

औषधि आपूर्ति व्यवस्था महाशाखाका प्रमुख डा.भीमसिंह टिङ्करी भन्छन्, "केही औषधि भन्सारमै छन् र केही परीक्षणकै क्रममा छन्। हामी छिट्टै औषधि आपूर्ति गर्छौं"।

त्यस्ता कतिपय औषधि खरिदको लागि सम्झौता भइसकेको तर त्यो आइपुग्न अझै समय लाग्ने भएकोले औषधि बाँकी रहेका स्वास्थ्य संस्थाहरुले समेत अबको केही समय औषधिको अभाव खेप्नुपर्ने अवस्था आउनसक्ने चिन्ता स्वास्थ्यकर्मीहरुको छ।