ट्रम्पद्वारा मतदाता छलको दावी

  • 25 जनवरी 2017
ट्रम्प तस्वीर कपीराइट AFP

अनुसन्धानले दुईवटा राज्यमा मत दिनका लागि दर्ता गरेका मानिस, दर्ता गरेपछि ज्यान गुमाएका मानिस र मत दिन नपाउने मानिसलाई समेट्ने ट्रम्पले बताए।

ट्रम्पले ५० लाख सम्म मानिसले हिलरी क्लिन्टनका पक्षमा गैरकानुनी रुपमा मत दिएको आरोप लगाएका छन् तर त्यसका लागि कुनै प्रमाण दिएका छैनन्।

आफ्नो अनुसन्धानको नतीजा हेरेर मत दिने प्रकृयामा सुधार ल्याउने उनले बताए।

आज ट्रम्पले आप्रवास सम्बन्धी कार्यकारी आदेशमाथि हस्ताक्षर गर्ने योजना रहेको छ जस अन्तर्गत अमेरिका र मेक्सिकोको सिमानामा पर्खाल बनाउने योजना पनि रहेको छ।

आरोप

ट्रम्पले गत नोभेम्बर महिनामा ट्वीट गर्दै पहिलोपटक मतदाता छल भएको दावी गरेका थिए।

तथ्यांक पुष्टिकर्ताहरुले त्यो दावीलाई गलत भन्दै अस्वीकार गरिसकेका छन् र मुख्य राज्यहरुका रिपब्लिकन निर्वाचन अधिकारीहरुले भने त्यस्तो छलको कुनै प्रमाण नभेटेको बताएका छन्।

ह्वाइट हाउसका प्रेस सचिव शन स्पाइसरले मंगलबार बताएका थिएः मानिसले दिएका अध्ययनका नतीजा र प्रमाणका आधारमा ट्रम्पले त्यस्तो छल भएको मानिरहेका छन्।

स्पाइसरलाई बारम्बार त्यस्तो अनुसन्धान खुलाउन भनियो तर उनले त्यसो गरेनन्।

विश्लेषण

वाशिंटनबाट बीबीसी न्यूजका एण्टोनी जर्कर भन्छनः निर्वाचक मण्डलले उनलाई क्लिण्टनमाथि सजिलो जीत दिलाएपनि क्लिण्टनले पाएको करीब ३० लाख बढी मतले उनलाई भित्रैदेखि खाइरहेको छ।

उनले कसैमाथि त्यसको दोष लगाउन चाहन्छन्।

उनले त्यो कुरा बिर्सेर अघि बढे सबभन्दा राम्रो हुन्थ्यो।

अथवा उनलाई आफ्ना चिन्ताहरु जायज लाग्छन् भने उनले यसमाथि राम्रोसंग अनुसन्धान गर्नुपर्छ।

उनको आशंका सही निस्केमा त्यो अमेरिकी ईतिहासकै सबभन्दा ठुलो चुनावी छल हुनेछ।

नतीजा

तर उनले त्यसो नगरेर बिहान बिहानै ट्वीट गरेर र सांसदहरुसंगको गोप्य बैठकमा आफ्नो भडास पोखिरहेका छन्।

त्यसको नतीजा के भयो भने संसदका सभामुख पौल रायन लगायतका उनका रिपब्लिकन समर्थकहरु उनी र उनका निराधार आरोपबाट आफुलाई टाढा राख्न बाध्य भएका छन्।

मंगलबार रिपब्लिकनहरुले ट्रम्पलाई त्यो कुरा अघि नबढाउन आग्रह गरेका थिए।

त्यसले अनुदारवदी दलमा फूट ल्याइराखेको छ जबकी आफ्ना योजनाहरु कार्यान्वयन गर्नका लागि ट्रम्पलाई चाहिने सबभन्दा महत्वपूर्ण चीज वा पार्टी एकता हो।