विवादित थप दुई चिनियाँ जहाज ‘यसैसाता’ नेपालमा

  • 26 जनवरी 2017
नेपाल वायुसेवा निगम
Image caption नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडानका लागि थप ठूला विमान ल्याउने तयारी पनि गरेको छ

विमानसम्बन्धमा नेपालले व्यक्त गरेका चिन्ताहरुको सम्बोधन गर्ने विश्वसनीय प्रतिवद्धता चिनियाँ पक्षबाट प्राप्त भएको भन्दै नेपाल वायुसेवा निगमले चीनसँग सम्झौता गरिएअनुसार थप जहाज यसैसाता ल्याउन लागिएको जनाएको छ।

पुर्जामा आएको समस्या तत्काल सम्बोधन गर्नेदेखि लिएर विमानको बिमा रकममा एक तिहाइभन्दा बढी छुट दिनेसम्मका विषयमा चिनियाँ पक्षले लिखित प्रतिवद्धता जनाएको निगमका महाप्रबन्धकले बताएका छन्।

चीनबाट अनुदानमा ल्याइएका दुईवटा विमान निरन्तर बिग्रिएपछि र मर्मतमा पनि व्यवधान झेलेपछि नेपालले चीनबाट थप चारवटा जहाज खरिद गर्न आनाकानी गर्दै आएको थियो।

लचक

मुख्य पुर्जा पहिले नै नेपालमा उपलब्ध गराइदिने र निकै महँगो भनिएको विमानको बिमा रकममा पनि भारी छुट दिने प्रतिवद्धता पाएपछि यसै हप्ता दुईवटा विमान ल्याउन लागेको निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले बताएका छन्।

उनले भने," उनीहरुले प्राविधिक सहयोग र पुर्जा सहज रुपमा उपलब्ध गराउने भनेका छन्। चिनियाँ जहाज उत्पादन कम्पनी एभिकले लिखित प्रतिवद्धता जाहेर गरेर अब त्यस्तो खाले समस्या नहुने गरी व्यवस्थापन गरिदिन्छु भनेपछि यो टुंगोमा पुगेको हो"।

"अब बिमा रकमपनि ३५ देखि ४० प्रतिशत घटेको छ"।

त्यसपछि बाँकी दुई साना विमान अर्को दुई महिनाभित्र ल्याइने पनि निगमले जनाएको छ।

निगम पदाधिकारीहरुका अनुसार, निगमले चिनियाँ विमानका कारण घाटा बेहोर्नुका साथै विश्वसनीयताको पनि समस्या भोग्नुपरेको थियो।

फाइदा

अब थप चिनियाँ विमान ल्याइएपछि देशका विभिन्न स्थानमा नियमित उडान गरी विश्वसनीयता र नाफा कमाउन सक्ने विश्वास निगमले व्यक्त गरेको छ।

निगमका महाप्रबन्धक कंसाकार भन्छन् ,"छवटा चिनियाँ जहाज आयो भने हामीसँग आन्तरिक उडानका लागि नौवटा जहाज हुन्छन्"।

"दुई वर्ष अगाडिसम्म हामीसँग तीनवटा ट्वीनअटरले सेवा दिइरहेकोमा एकैचोटि ९ वटाले सेवा दिएपछि नाफामा पनि जान सकिन्छ।"

आन्तरिक उडानलाई लक्षित गरी मन्त्रिपरिषद्‍ले तीन वर्ष अगाडि चीनसँग त्यहाँकै आयातनिर्यात ब्याङ्क 'एक्जिम ब्याङ्क'को ऋणबाट दुईवटा विमान अनुदानमा ल्याउने र थप चारवटा विमान खरिद गर्ने निर्णय गरेको थियो।