मे तथा ट्रम्पद्वारा ‘विशेष संबन्ध’ मा जोड

  • 27 जनवरी 2017
तस्वीर कपीराइट Getty Images

राष्ट्रपतिको पद सम्हालेपछि ट्रम्पले ह्वाइट हाउसमा मेलाई पहिलो विदेशी नेताका रुपमा स्वागत गरे।

भेटवार्तामा ब्रिटिश प्रधानमन्त्री टरिजा मे र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले दुई देशबीच विशेष संबन्ध रहेको भन्दै त्यसलाई अरु बलियो बनाउने कुरामा जोड दिएका थिए।

उनीहरुबीच ब्रिटेन युरोपेली संघ (इयु) बाट बाहिरिएपछि दुई देशबीच व्यापार सम्झौताको सम्भाव्यताबारे पनि छलफल भएको थियो।

सम्झौता

त्यसका साथै सुरक्षासम्बन्धी विषय र उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) को भविष्य लगायतका विषयमा पनि दुई नेताबीच कुराकानी भएको थियो।

एउटा संयुक्त पत्रकार संमेलनमा बोल्दै प्रधानमन्त्री मे ले डायस पनि भनिने कथित इस्लामिक स्टेटलाई पराजित गर्ने विषय दुबै देशको प्राथमिकता भएको बताइन्।

उनले आफ्ना युरोपेली साझेदारहरुलाई कूल गार्हस्थ्य उत्पादनको कम्तीमा २ प्रतिशत प्रतिरक्षामा खर्च गर्न मनाउन आफुले प्रयास गर्ने पनि बताइन्।

राष्ट्रपति ट्रम्पले नेटो सदस्यहरुले आफ्नो प्रतिरक्षाकालागि बढी खर्च गर्नुपर्ने र अमेरिकामाथि मात्रै भर पर्न नहुने बताउँदै आएका छन्।

ब्रेक्सिट

एउटा प्रश्नको जवाफ दिँदै राष्ट्रपति ट्रम्पले ब्रेक्सिट पनि भनिने युरोपेली संघ इयु छाडने ब्रिटेनको निर्णयको स्वागत गरे।

आफुले जनमत संग्रहको नतिजा आउनु अघि नै ब्रेक्सिट पक्षधरहरुको जीत हुन्छ भनेको स्मरण गर्दै उनले ब्रिटेनको अर्थतन्त्रकालागि त्यो राम्रो हुने बताए।

ब्रिटेनले इयु छाडे पछि अमेरिकासंग नयाँ व्यापार संझौता गर्न चाहिरहेको छ।

तर वासिङटनस्थित बीबीसीका एकजना संवाददाता भन्छन्, व्यापार सम्झौताबारे ट्रम्पले सार्वजनिक रुपमा समर्थन जनाएपनि स्वभावतः उनी एक संरक्षणवादी हुन् र उनलाई थाहा छ कि व्यापार सम्झौता अमेरिकालाई भन्दा ब्रिटेनलाई बढी जरुरी छ।

हस्तक्षेप

अमेरिकी रिपब्लिकनहरुलाई बिहीबार सम्बोधन गर्दै मेले 'विश्वलाई आफ्नै अनुरुप बनाउन ब्रिटेन र अमेरिका असफल सैन्य हस्तक्षेपको बाटोमा फर्किन नहुने' बताएकी थिइन्।

तर उनले वास्तविक खतरा उत्पन्न भए ब्रिटेन र अमेरिका चुप लागेर बस्न नहुने पनि उल्लेख गरिन्।

श्रीमती मे ले 'ब्रिटेन र अमेरिकाबीचको विशेष सम्बन्धलाई आफूले पुनर्स्थापित' गराउन चाहेको बताइन्।

सम्झौता

इयुबाट ब्रिटेन नबाहिरिएसम्म उसले अमेरिका वा अन्य मुलुकसँग व्यापार सम्झौता गर्न नपाउने भएपनि बाहिरिए लगत्तै सम्झौता गर्न चाहेको ब्रिटिश अधिकारीहरुले बताएका छन्।

ब्रिटेनका अर्थमन्त्री फिलिप ह्यामण्डले व्यापार वार्ताहरुमा ब्रिटेन इयुका नीतिप्रति प्रतिबद्ध रहेर कुराकानी गर्ने बताएका छन्।

उनले भने, "बिल्कुल हामी संसारभरिका हाम्रा साझेदार मुलुकहरुसँग व्यापार सम्बन्ध सुदृढ बनाउन चाहन्छौँ, तर सम्झौताप्रतिको हाम्रो दायित्वलाई हामी बिर्सन्नौँ र तिनीहरुलाई हुबहु पालना गर्नेछौँ।"