तत्कालै चुनाव घोषणा हुँदै: सभामुख

  • 28 जनवरी 2017
सभामुख घर्ती
Image caption सभामुख ओनसरी घर्तीले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने जानकारी पाएको बताइन्

सभामुख ओनसरी घर्तीले तत्कालै स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने जानकारी सरकारले आफूलाई गराएको बताएकी छन्।

प्रधानमन्त्री प्रचण्डले निर्वाचन सम्बन्धी विधेयक पारित भएपछि मिति घोषणा गर्ने कुरा आफूलाई पनि बताएको उनले जानकारी दिइन्।

त्यसका निम्ति संसदमा विचाराधीन सबै विधेयक केही दिनभित्रै संसदबाट पारित गराउने उनको भनाइ छ।

शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँगको कुराकानीमा सभामुख ओनसरी घर्तीले केही दिनभित्रै चुनाव घोषणा हुने बताएकी हुन्।

आधार

प्रधानमन्त्रीले चुनावको मिति घोषणा गर्ने बताइरहँदा संसदको नेतृत्व गरेकी सभामुखले पनि त्यस्तै अभिव्यक्ति दिनुको आधारबारे बीबीसीसँग उनले भनिन, "प्रधानमन्त्रीले विधेयकहरु सबै पारित भए भने नेपाल सरकारले निर्वाचन घोषणा गर्नेछ भन्नु्भएको छ। जसरी राजनीतिक छलफल भइरहेको छ; मलाई लाग्छ छिटै निर्वाचन घोषणा गर्दै हुनुहुन्छ।"

प्रधानमन्त्री प्रचण्डले मिति घोषणाअघि निर्वाचन सम्बन्धी सबै कानून पारित हुनु पर्ने कुरा निर्वाचन आयोगले राखेको बताएका थिए।

सभामुख ओनसरी घर्तीले निर्वाचनको ढोका खुला गर्ने ठानिएका सबै विधेयक २-३ दिनभित्रै पारित गर्ने जानकारी दिइन्।

उनले भनिन्, "दुईवटा विधेयक पास भइसकेका छन्। एउटा विधेयक हिजो नै टेबुल भइसकेको छ। त्यो स्वत: पास हुन्छ। अरु दुईवटा विधेयकहरु समितिले तयारी अवस्थामा राखेको छ। हामीले सोमबारको बैठकबाट निर्वाचन सम्बन्धी सबै विधेयकहरु पारित गर्ने लक्ष्य राखेका छौं।"

छलफल

थ्रेसहोल्ड लगायतका केही प्रावधानमा दलहरुबीच कुरा मिल्न बाँकी रहेकाले दुईवटा विधेयक अझै छलफलमै छन्।

चुनाव स्थानीय तह कि निकायको गर्ने भन्नेमा पनि मुख्य दलबीच नै एकमत देखिन्न।

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको शनिबार भएको बैठकले त संविधान संशोधनको पक्ष र स्थानीय तह सम्बन्धी प्रतिवेदनको विरोधमा प्रदर्शन गर्ने निर्णय गरेको छ।