‘चुनाव अब जेठमा गर्ने सरकारको तयारी’

  • 29 जनवरी 2017

बैशाख अन्तिम साता स्थानीय चुनाव गर्ने बताइरहेका प्रधानमन्त्री प्रचण्डले अब जेठमा गर्ने जानकारी निर्वाचन आयोग गराएका छन्।

प्रधानमन्त्रीले प्रमुख निर्वाचन आयुक्तसँगको छलफलमा त्यसै अनुसार आन्तरिक गृहकार्य गर्न आयोगलाई आग्रह गरेको उनका सल्लाहकारले बीबीसीलाई जानकारी दिए।

आयोगकोतर्फबाट आफ्ना केही वाध्यता राखेको जानकारी दिएका प्रमुख निर्वाचन आयुक्तले प्रधानमन्त्री जसरी पनि जेठमा चुनाव गर्न दृढ रहेको बताए।

शहीद दिवसको बिदाका दिन पनि प्रधानमन्त्री प्रचण्डले प्रमुख निर्वाचन आयुक्त आयोधिप्रसाद यादवलाई आफ्नो सरकारी निवासमा डाकेर छलफल गरेका थिए।

बाध्यता

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनालले भने, "आयोगका प्राविधिक समस्या हल गर्न सरकारले तुरुन्तै गर्नु पर्ने काम गर्छ। ढीलोमा जेठको दोश्रो हप्तासम्म चुनाव गर्नका निम्ति गर्नु पर्ने तयारी गर्नुस् भन्ने प्रधानमन्त्रीको भनाइ थियो।"

निर्वाचनको निम्ति आवश्यक पाँचवटा विधेयकमध्ये दुईवटा पारित भइसकेका छन्।

एउटामा दलहरुबीच सहमति भइसकेको छ भने बाँकी दुईवटामा राजनीतिक मतभेद कायम देखिन्छ।

प्रधानमन्त्रीसमक्ष आफूले प्राविधिक, राजनीतिक र कानुनी वाध्यताबारे कुरा राखेको प्रमुख निर्वाचन आयुक्त यादवको बताए।

त्यसबारे थप नखुलाएरै उनले भने, "प्रधानमन्त्रीले जेठमा जसरी पनि निर्वाचन गर्छौं, मिति घोषणा हुनुअघि गर्नु पर्ने तयारीमा हामी सबै लागौं, निर्वाचनको वतावारण बनाएर सरकारले मिति यथाशिघ्र घोषणा गर्ने विश्वास दिलाउनु भयो।"

निर्णायक चरण

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासँग सहमति नभइसककेको अवस्थामा बैठकमा चुनावको निम्ति राजनीतिक वातावरण बन्नु पर्नेमा पनि छलफल भएको थियो।

प्रमुख राजनीतिक सल्लाहकार खनालका अनुसार प्रधानमन्त्रीले सकेसम्म मोर्चालाई समेटेरै चुनाव घोषणा गर्ने प्रयासमा रहेको जानकारी आयोगलाई गराएका थिए।

प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै खनालले भने, "अन्तिम कुराकानी मोर्चासँग गरौं, त्यसपछि एउटा निर्णय लिनु पर्ने हुन्छ।"

प्रमुख प्रतिपक्षी नेकपा एमाले र सत्ताधारी नेपाली कांग्रेससँग केहीदिन अघि गरेको बैठकपछि प्रधानमन्त्रीले सरकार तत्कालै चुनावको मिति घोषणा गर्ने तयारीमा जुटेको बताएका थिए।

तर त्यसको दुई दिनपछि मोर्चाका नेताहरुसँगको बैठकमा उनीहरुसँगको सहमतिमै मिति घोषणा गर्ने वचन दिएका प्रधानमन्त्रीले मिति घोषणा गर्न आफैले तोकेको माघ १५ गतेको समयसीमा गुजारिसकेका छन्।