पूर्वी युक्रेनमा भीषण भिडन्त

  • 31 जनवरी 2017
युद्धक ट्यांक तस्वीर कपीराइट AFP

युक्रेनको पूर्वी सिमानामा रहेको नगर आभ्डियिभ्कामा रुस समर्थक लडाकुहरुसँग भिडन्त चर्किएपछि अधिकारीहरुले त्यहाँका बासिन्दालाई अन्तै सार्ने सम्भावनाको तयारी गर्दैछन्।

बिजुली र पानीको सेवा अवरुद्ध भएको त्यो नगरबाट प्रत्येक दिन ८ हजार मानिसलाई सार्न सकिने उनीहरु बताउँछन्।

पृथकतावादीहरुले नियन्त्रण गरेको क्षेत्रको छेउमा रहेको आभ्डियिभ्कामाथि विद्रोहीहरुले आक्रमण गरेपछि भिडन्त शुरु भएको युक्रेनको सेनाले बताएको छ।

मंगलबार दुवै पक्षले थुप्रैको मृत्यु भएको बताएका छन् र एकअर्कामाथि हिंसा चर्काएको आरोप लगाएका छन्।

अवरुद्ध

गत महिना एउटा युद्धविराम फेरि लागू गर्ने प्रयास हुँदाहुँदै पनि हिंसा चर्केको हो।

विगत केही दिनमा ७ जना सैनिक र थुप्रैजना विद्रोही मारिएका छन्।

दुवै पक्षमा सर्वसाधारणको ज्यान गएको छ तर मृतकको संख्या स्पष्ट भएको छैन।

मंगलबार आक्रमणका कारण विद्रोही नियन्त्रित दोनेत्स्क क्षेत्रमा विद्युत सेवा अवरुद्ध भएपछि कोइलाखानीका २०० कर्मचारी धेरै घण्टासम्म खानीमा फसेका थिए।

जास्याद्कोमा इञ्जिनियरहरुले केही समयपछि जेनेरेटर चलाएर बिजुली बालेर ती कर्मचारीलाई खानीबाट बाहिर ल्याउन थालेका थिए।

आभ्डियिभ्काकी एकजना बासिन्दाले त्यहाँको स्थिति एकदम खराब भएको भन्दै मानिसहरु घरबाहिर निस्किन डराइरहेको बताएकी छिन्।

स्थानातरण

कीएभले नियुक्त गरेको प्रशासनका प्रमुख पाव्लो जेब्रिभ्स्कीले मंगलबार त्यहाँका बासिन्दाको स्थानान्तरण गर्ने योजना बनाइरहेको बताएका छन्।

नगरमा १६ देखि २२ हजारसम्म मानिस रहेको बताइन्छ।

भिडन्त अझ चर्किएमा स्थानान्तरण अघि बढ्ने र करिब १० टन खानेकुरा चाँडै नै नगरमा पुग्न लागेको अधिकारीहरु बताउँछन्।

बीबीसी युक्रेनियनकी आनास्टेशिया ग्रिबानोभा भन्छिनः रुस समर्थक विद्रोहीहरुबाट सन् २०१४ मा फिर्ता लिइएको आभ्डियिभ्का युक्रेनी सेनाको मुख्य अखडा हो र युक्रेनले त्यसमाथि नियन्त्रण कायम राख्न हरसम्भव प्रयास गरिरहेको छ।

आभ्डियिभ्काको महत्व

आभ्डियिभ्काको छेउमै विद्रोही नियन्त्रित दोनेत्स्क नगर र विद्रोहीहरुले उपकरण र हतियार ओसारपसार गर्न प्रयोग गर्ने सडकहरु रहेका छन्।

र त्यो नगरमा इस्पातको उद्योगका लागि आवश्यक केही तत्व उत्पादन गर्ने युरोपकै ठूलो रासायनिक कारखाना पनि छ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोन वार्ता गरे लगत्तै त्यहाँ हिंसा चर्केको हो।

ट्रम्पको कार्यकालमा अमेरिकी समर्थन गुम्ने किभको चिन्ता छ।

विगत

ट्रम्प र पुटिनले युक्रेन लगायतका विषयमा साझेदारी जस्तै किसिमको सहमति गरेको क्रेमलिनको भनाई छ।

सन् २०१५ को फेब्रुअरी महिनामा त्यहाँ युद्धविराम गर्ने सम्झौता भएको थियो तर त्यो बारम्बार भंग गरिएको छ।

सन् २०१४ मा द्वन्द्व शुरु भएयता ९ हजार ७०० भन्दा धेरैको ज्यान गएको छ।

रुसले युक्रेनको दक्षिणी क्राइमिया क्षेत्रलाई आफूमा मिलाएको थियो र रुस समर्थक विद्रोहीहरुले पूर्वमा विद्रोह शुरु गरेका थिए।

पूर्वी युक्रेनमा रुसका क्रियाकलापको प्रतिक्रियामा अमेरिका र युरोपेलीसंघले रुसमाथि प्रतिबन्धहरु लगाएका छन् भने रुसले विद्रोहीहरुलाई सघाएको आरोप अस्वीकार गरेको छ।