फ्रान्सको लुभ्र संग्रहालय छेउमा आक्रमण

  • 3 फेब्रुअरी 2017
लुभ्र तस्वीर कपीराइट AP

फ्रान्सको लुभ्र संग्रहालयको सुरक्षामा खटिएका एकजना सैनिकले सुरक्षा गस्तीमाथि आक्रमण गर्ने खोज्ने एकजनालाई गोली हानेको प्रहरीले बताएको छ।

ठूलो चक्कु बोकेका ती मानिसले अल्लाहु अकबर भनेर चिच्याएको प्रहरीको भनाई छ।

लुभ्रको किनमेल केन्द्रमा छिर्न खोजेका ती मानिसलाई पेटमा गोली हानिएको थियो र उनी गम्भीर घाइते भएका छन्।

एकजना सैनिकलाई टाउकोमा सानो चोट लागेको छ।

'आतंकवादी'

प्रधानमन्त्री बेनार काजनोभले त्यो आक्रमणलाई आतंकवादी प्रकृतिको भनेका छन्।

लुभ्र संग्रहालयमा मोनालिसा लगायत थुप्रैवटा प्रसिद्ध कलाकृति रहेका छन्।

स्थानीय समयको बिहान १० बजे संग्रहालय छिर्ने ढोकासम्म पुग्ने एउटा भर्याङ्ग छेउमा त्यो घटना भएको थियो।

गस्ती गरिरहेका ४ जना सैनिकमाथि ती आक्रमणकारी जाइलागेपछि उनीहरुले प्राणघातक बल प्रयोग नगरी उनलाई नियन्त्रणमा लिन खोजेको बताइएको छ।

त्यो प्रयास असफल भएपछि र एकजना सैनिक घाइते भएपछि ५ पटक गोली हानिएको थियो।

सन्दिग्ध

संदिग्ध आक्रमणकारीलाई अस्पताल लगिएको छ।

अरबी भाषामा ईश्वर महान हुन् भनेर चिच्याउने ती मानिसका दुईवटा झोलाको जाँच गरिएको छ तर त्यहाँ विस्फोटक पदार्थ भेटिएन।

अर्का एकजनालाई गिरफ्तार गरिएको छ।

मुख्य संदिग्धका बारेमा धेरै कुरा थाहा भएको छैन तर ३० देखि ४० वर्षबीचको उमेरका ती मानिससँग परिचयपत्र नभएको बताइएको छ।

सतर्कता

त्यो समयमा संग्रहालयमा रहेका सयौं दर्शकलाई सुरक्षा जाँच गरेर बिस्तारै बाहिर निकालिएको थियो।

सन् २०१५ मा प्यारिसमा आक्रमण गरिएपछि फ्रान्सले उच्च सतर्कता अपनाइरहेको छ।

सुरक्षा व्यवस्था कडा गरिएको छ र थप हजारौं सैनिकहरु सडकमा गस्ती गर्ने गर्दछन्।

प्यारिसमा सन् २०१५ को नोभेम्बर महिनामा बन्दुकधारी मानिस र आत्मघाती हमलाकारीको श्रृंखलाबद्ध आक्रमणमा परेर १३० जना मारिएका थिए।

इस्लामिक स्टेट भनिने समूहले ती आक्रमणको जिम्मा लिएको थियो।

विगत

सोही वर्षको ज्यानुअरी महिनामा शार्ली एब्दो पत्रिकामाथि आक्रमण हुँदा १७ जना मारिएका थिए।

गत वर्ष नीसमा बास्टिल डे मनाइरहेका मानिसमाथि लरी दौडाइंदा ८६ जना मारिएका थिए।

लुभ्र संग्रहालय अझै पनि निकै लोकप्रिय छ तर आतंकवादी आक्रमणको डरका कारण आगन्तुकको संख्या निकै घटेको छ।

सन् २०१५ मा त्यो विश्वकै सबभन्दा धेरै दर्शक पुगेको संग्रहालय बनेको थियो तर लुभ्रले अब पनि त्यो स्थान ओगट्ने विषयमा भने शंका छ।