स्वदेश फिर्तीको अत्यासलाग्दो पर्खाइ

  • 5 फेब्रुअरी 2017
वांग
Image caption तीन हजार किलोमिटर टाढाको गाउँमा रहेका आफ्ना दाजुलाई वांग छीले पाँच दशकपछि इन्टरनेटमार्फत पहिलो पटक देखे

भारत-चीन युद्ध सकिएको केही सातापछि सन् १९६३ मा चिनियाँ सेनाका एकजना सर्वेक्षक आफ्नो देशको सीमा नाघेर भारत प्रवेश गर्दा बन्धक बनाइए।

वांग छी नामका ती सैनिकले अहिलेसम्म भारत छाड्न पाएका छैनन् र उनको परिवारसँगको मिलन पनि अझै हुन पाएको छैन।

मध्य भारतको नागपुरको विमानस्थलबाट झण्डै पाँच घण्टा गाडीमा यात्रा गरेपछि तिरोडि गाउँ पुगिन्छ।

म यहाँ अहिलेसम्म पनि आफ्नो देश फर्कन नसकिरहेका वांगलाई भेट्न आएको हुँ।

व्यग्र

पाँच दशकदेखि यहाँ बसिरहेका उनले आफ्नो परिवार भेट्ने आश मारेका छैनन्।

सेतै रंगको कपाल भएका वांगलाई मैले भेट्दा उनले कालो रंगको जुत्ता र कालै रंगको हाफ ज्याकेट लगाएका थिए।

८० वर्षे वांगले मलाई भेट्ने वित्तिकै अंगालो मारे।

हामी तिरोडिबाट तीन हजार किलो मिटर टाढा चीनको गाउँमा उनका परिवारसँग भिडियोमा सम्पर्क गर्ने प्रयास गरिरहेका छौं।

Image caption वांगकी आमाको निधन सन् २००६ मा नै भयो। उनले घर फर्किन र आफ्नी आमालाई देख्न पाएनन्

हामी सँगसँगै सरकारी कार्यालयमा जान्छौँ जहाँ त्यस आसपास कोसौं परसम्म नभएको इन्टरनेट सेवा उपलब्ध छ।

मैले इन्टरनेट जोड्ने प्रयास गरिरहँदा उनले निकै व्यग्रतापूर्वक मोबाइल फोनमा हेरिरहे।

चीनको शियानयांग प्रान्तको शांसीमा रहेका आफ्नो ८२ वर्षीया दाजु सोफामा बसिरहेको दृश्य स्क्रिनमा देखिएपछि उनका आँखा चम्किए।

दुई दाजुभाइले एक अर्कालाई ५० वर्षपछि देखिरहेका छन्।

म्यानडरिन भाषामा उनीहरुले १७ मिनेट कुराकानी गरे।

"मैले उनलाई चिन्नै सकिनँ, उनी एकदमै बुढा भएछन्, उनले मेरो लागि मात्रै बाँचिरहेको छु भन्दै थिए," आफ्नो भारतीय नाम राजबहादुर रहेका वांग छीले ठेट हिन्दीमा मसँग भने।

त्यसबेला भारतमा जन्मिएका उनका तीन सन्तानहरु छेउमा बसेर उनलाई ढाडस दिँदै थिए।

सेना

शान्सीमा चार दाजुभाइ र दुई दिदी बहिनी रहेको परिवारमा जन्मिएका उनले नक्साङ्कन सम्बन्धी विषय अध्ययन गरे र सन् १९६० मा चिनियाँ जनमुक्ति सेनामा भर्ना भए।

वांगका अनुसार उनलाई चिनियाँ सेनाका लागि बाटो बनाउने जिम्मेवारी दिइएको थियो।

Image caption वांग सन् १९६० मा चीनको जनमुक्ति सेनामा भर्ती भएका थिए

सन् १९६३ को ज्यानुअरीमा भौँतारिएर भारतीय भूभागमा प्रवेश गरेपछि उनलाई बन्धक बनाइएको थियो।

उनी सम्झन्छन्, "फुर्सद भएको बेला क्याम्पबाट बाहिर निस्किँदा मैले फर्कने बाटो भुलेँ, म एकदमै थकित थिए र भोकाएको पनि। मेलै एउटा रेडक्रसको गाडी देखेँ र मलाई मद्दत गर्न अनुरोध गरेँ, उनीहरुले मलाई भारतीय सेनाको जिम्मा लगाइदिए।"

भारतीय अधिकारीहरुका अनसार वांग 'गैरकानूनी रुपमा' भारत प्रवेश गरेका थिए र उनले भारतीय अधिकारीहरुलाई 'आफ्नो पृष्ठभूमि र परिस्थितिबारे' गलत जानकारी दिएका थिए।

त्यसपछिका सात वर्ष भारतका विभिन्न बन्दीगृहहरुमा बिताएका उनलाई सन् १९६९ मा अदालतले रिहा गर्यो।

त्यसपछि प्रहरीले उनलाई मध्य प्रदेशको दूरदराजको गाउँ तिरोडीमा लगेर छाडिदियो। त्यसयता उनलाई देश छाड्न अनुमति दिइएको छैन।

वांग युद्ध बन्दी हुन् या होइनन् अझै स्पष्ट छैन।

तर उनलाई भारतका आधिकारिक परिचय पत्र वा नागरिकता उपलब्ध गराइएको छैन र घर फर्कन अनुमति पनि दिइएको छैन।

उनको परिवारका अनुसार वांगलाई भारतबाट बाहिर जानका लागि यात्रा अनुमतिपत्र आवश्यक पर्छ।

Image caption चीनमा रहेको वांगको परिवार

ओझेल

एकजना वरिष्ठ स्थानीय अधिकारी भरत यादव 'त्रुटी'हरु भएकोमा सहमत छन्।

वांगको विषयबारे खासै चासो नदिइएको उनी बताउँछन्।

उनले भने ,"उनको कामहरुका बारेमा कुनै शंका छैन, यदि उनी घर जान चाहन्छन् भने हामी उनलाई मद्दत गर्ने कोसिस गर्छौँ।"

सन् २०१३ मा राहादानी बनाउन वांगलाई मद्दत गरेको चिनियाँ राजदूतावासका एकजना अधिकारीले उक्त विषयबारे आफू जानकार रहेको बताए।

उनको बारेमा भारतको केन्द्रीय गृह मन्त्रालयलाई सोधिएको प्रश्नको अझै जवाफ आइसकेको छैन।

वांगको पर्खाइ भने लामो र आत्यासलाग्दो बनिरहेको छ।

भाषादेखि खानेकुरा र एकदमै पृथक समाजमा घुलमिल हुन उनले पाइलैपिच्छे चुनौती सामना गर्नुपर्यो।

"सुरुमा मैलै मैदा मिलमा काम गरेँ, तर मेरो परिवारको यादले सताउँदा म राती राती सधैँ रुन्थेँ, आमाको याद एकदमै आउँथ्यो।"

उनी भन्छन् ,"म कहाँ फस्न पुगेँ भनेर मलाई सधैँ लागिरहन्थ्यो।"

विवाह

सन् १९७५ मा 'साथीहरुको दबाबमा' वांगले स्थानीय युवती सुशीलासँग विवाह गरेका थिए।

Image caption वांगले आफ्ना साथीहरुको दबाबपछि सन् १९७५ मा एकजना स्थानीय युवतीसँग विवाह गरेका थिए

"एकजना विदेशीसँग विहे गरिदिएकोमा म मेरो परिवारसँग एकदमै रिसाएँ, मलाई उनको भाषा बुझ्न ज्यादै गाह्रो भयो। केही महिना अप्ठ्यारो झेल्नुपरे पनि तर पछि म अभ्यस्त भए," उनले मुस्कुराउँदै भनिन्।

वांगले व्यापार गर्ने प्रयास पनि गरे।

तर आफ्नो स्पष्ट कानूनी हैसियत नहुँदा प्रहरीबाट दु:ख पाएको उनी सम्झन्छन्।

उनका एकजना छिमेकी बीबी सिंह भन्छन्, "घुस नदिएकोमा वांगलाई प्रहरीले कुटेको मलाई सम्झना छ, उनी इमान्दार मानिस हुन्।"

उनका छिमेकीहरु वांगले चीनको आफ्नो गाउँ र आफ्ना गरिब परिवारबारे कुराकानी गरेको र कोशौंसम्म साइकल गुडाएको अनुभवहरु सुनाएको सम्झना गर्छन्।

घरमा कैयौं पत्र पठाएका उनलाई पहिलोपटक सन् १९८० मा जवाफ आएको थियो।

त्यसबेला परिवारका सदस्यका तस्वीरहरु साटेको उनी बताउँछन्।

सपना

उनले ४० वर्षपछि पहिलोपटक सन् २००२ मा आफ्नी आमासँग टेलिफोनमा कुराकानी गरेका थिए।

उनले भने, "उनले आफ्नो जीवनको अन्तिम घडी आउन लागेको भन्दै मलाई हेर्न मन लागेको बताएकी थिइन्, मैलै फर्कने प्रयास गरिरहेको थिएँ। मैलै यात्रा अनुमति पत्रका लागि आवश्यक पर्ने सबै निकायलाई चिठ्ठी पनि पठाएँ तर केही भएन।"

सन् २००६ मा उनकी आमाको निधन भयो।

सन् २००८ मा पर्यटक भिसामा भारत भ्रमणमा आएका उनका भतिजा वांगलाई भेट्न आए।

Image caption वांग आफ्नो परिवार छोडेर चीन फर्कन्छन् कि फर्किँदैनन् भन्ने स्पष्ट भएको छैन

तीनै भतिजाले राहदानीका लागि आवश्यक कगजात जुटाउन उनलाई मद्दत गरे।

वांग छि अझै चीन फर्कन पाउँछन् या पाउँदैनन् स्पष्ट छैन।

यदि उनी गए भने के उनी भारत फर्कन चाहलान्?

त्यसको जवाफमा नातिनीलाई काखमा खेलाउँदै उनी भन्छन्, "मेरो परिवार यहीँ छ, म कहाँ नै जाउँला र?"

सुशिला भने चिन्ता मान्दै भन्छिन्, "म आशा गर्छु उहाँ फर्किनुहुनेछ।"

वांग छीको बारेमा बीबीसीले समाचार प्रकाशन गरेपछि नयाँ दिल्लीस्थित चिनियाँ दूतावासका अधिकारीहरुले उनको गाउँ गएर उनलाई भेटेका छन्।

चिनियाँ नयाँ वर्षको अवसरमा कपडा र उपहारसमेत लिएर गएका उनीहरुले भारत सरकारले वांगलाई यात्रा अनुमति पत्र उपलब्ध गराए चीन फर्कन मद्दत गर्ने बाचा गरेका छन्।