अमेरिकामा यात्रा प्रतिबन्धविरुद्ध आवेदन

  • 6 फेब्रुअरी 2017
विरोध प्रदर्शन तस्वीर कपीराइट AP

अमेरिकाका एप्पल, फेसबुक, र गुगल लगायतका ठूला प्रविधि कम्पनीहरुले संयुक्त रुपमा आवेदन दर्ता गर्दै राष्ट्रपति ट्रम्पले लागू गरेको यात्रा प्रतिबन्धले अमेरिकी व्यवसायमा उल्लेखनीय क्षति पु-याएको बताएका छन्।

सान फ्रान्सिस्कोस्थित एउटा पुनरावेदन अदालतमा दर्ता गरिएको उक्त आवेदनमा झण्डै एकसयवटा कम्पनीले हस्ताक्षर गरेका छन्।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सात मुसलमान राष्ट्रका नागरिकलाई अमेरिका आउनमा प्रतिबन्ध लगाउने आफ्नो अध्यादेशलाई अस्थायी रुपमा निलम्बन गरिदिएको अदालती आदेशलाई पुनरावेदन अदालतमार्फत उल्टाउने प्रयास गरिरहेका छन्।

अब एप्पल र गुगल जस्ता संसारका ठूला केही व्यापारिक समूहहरुले राष्ट्रपतिको अध्यादेशविरुद्ध उक्त अदालतसमक्ष आफ्नो धारणा प्रस्तुत गरेका छन्।

उक्त कानूनी आवेदनमा भनिएको छ, राष्ट्रपतिको अध्यादेशले ती कम्पनीहरुको व्यापार, नयाँ खोज र वृद्धिमा उल्लेखनीय क्षति पु-याउँछ।

प्रतिबन्ध

मुसलमान बाहुल्य भएका सात राष्ट्रहरु विरुद्ध जारी तर हाल निलम्बनमा परेको यात्रा प्रतिबन्ध आदेशबाट अमेरिकी कम्पनीहरुलाई प्रतिभावान कामदार आकर्षित गर्न र विदेशमा आफ्नो कारोबार विस्तार गर्न उल्लेख्य रुपमा अप्ठ्यारो परेको उक्त दस्तावेजमा जनाइएको छ।

उक्त आवेदनमा भनिएको छ, अमेरिकाका सबैभन्दा बढी मूल्यवान पाँच सयवटा कम्पनीहरुमध्ये आधाभन्दा बढीको स्थापना आप्रवासी र तिनका सन्तानले गरेका छन्।

बीबीसीका आर्थिक संवाददाता एन्ड्र्यू वाकर भन्छन्, अदालत समक्ष प्रस्तुत उक्त आवेदनमा धेरै जसो प्रविधिसँग सम्बन्धित कम्पनीहरुले हस्ताक्षर गरेका छन्, र प्रविधि क्षेत्र नै अमेरिका बाहिर रहेका विशेषज्ञहरुलाई रोजगारी दिने ठूलो क्षेत्र रहेको तथ्य सो आवेदनबाट स्पष्ट हुन्छ।