'अनुत्पादक क्षेत्रमा लगानीमाथि कडाइ'

  • 9 फेब्रुअरी 2017
चिरञ्जीवि नेपाल

पछिल्लोपटक तरलता संकट उत्पन्न भएको भन्दै चिन्ताहरु व्यक्त भइरहंदा देशको केन्द्रीय ब्याङ्क अनुत्पादन क्षेत्रमा हुने ब्याङ्किङ लगानीमा कडाइ गर्ने व्यवस्था मौद्रिक नीतिमै ल्याउने तयारी गरेको अधिकारीहरुले बताएका छन्।

सवारी साधन, घरजग्गा तथा शेयरमा लगानी गर्न सर्वसाधारणमा भएको अत्याधिक कर्जा प्रवाहलाई नीतिगत रुपमै नियन्त्रित गर्ने तयारी भएको नेपाल राष्ट्र ब्याङ्कका गभर्नर चिरञ्जीवि नेपालले बताए।

पुँजी वृद्धिको विषयसँग व्यवसायलाई आवद्ध गरी बढी जोखिमपूर्ण लगानी नगर्न वित्तीय संस्थाहरुलाई निर्देशन दिइएको गभर्नर नेपालले बताए।

अधिक

वित्तीय संस्थाहरुले कर्जाको ब्याजदर नियम विपरीत बढाएको तर सर्वसाधणको सानो बचतको ब्याज त्यसअनुरुप नबढाएको विषयमा छलफल भएको उनी बताउँछन्।

उनले भने,"मुख्यतया ब्याजदरसम्बन्धी विषय त्यस्तै अनुत्पादक क्षेत्र र ओभरड्राफ्टमा नियन्त्रण गर्न ब्याङ्कलाई भनेका छौं।"

सवारी साधन खरिदमा कर्जा अत्यधिक प्रवाह भएको र यसले नकारात्मक असर पारेको राष्ट्र ब्याङ्कले जनाएको छ।

त्यसैले अनुत्पादक क्षेत्रमा ब्याङ्कहरुले गर्ने लगानी कम गर्न नीति ल्याउनेबारे पनि छलफल भएको गभर्नर नेपालले बताए।

उनले भने,"अहिलेको परिस्थितिलाई राम्रोसँग सामना गर्नुहोस् मौद्रिक नीतिको मध्यावधि समीक्षा हुँदैछ त्यतिबेला केही निर्देशनहरु र नीतिगत कुरामा विचार गर्देछौं भनेर हामीले ब्याङ्कहरुलाई भनेका छौं।"

आर्थिक स्थिति सुधारन्मुख रहेको अवस्थामा वित्तीय संस्थाहरुले ९० प्रतिशतसम्म कर्जा लगानी गर्ने गरेकाले तरलताको समस्या उत्पन्न हुन गएको भन्दै त्यस्तो प्रवृत्तिलाई ब्याङ्क तथा वित्तीय संस्थाहरुले नै सुधार गर्नुपर्ने राष्ट्र ब्याङ्कको धारणा रहेको छ।