पुनरावेदन अदालतको आदेशप्रति ट्रम्पको आक्रोश

  • 10 फेब्रुअरी 2017
तस्वीर कपीराइट Reuters

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो कार्यकारी आदेशलाई पुनर्स्थापित गर्न एउटा पुनरावेदन अदालतले अस्वीकार गरीदिएपछि आक्रोश व्यक्त गरेका छन्।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सात वटा मुसलमान बाहुल्य राष्ट्रका नागरिकलाई अमेरिका प्रवेशमा अस्थायी प्रतिबन्ध लगाउने उनको निलम्बित आदेशलाई पुनर्स्थापित गर्न एउटा पुनरावेदन अदालतले अस्वीकार गरेपछि उनले सो फैसलाप्रति आक्रोश व्यक्त गरेका हुन्।

राष्ट्रपति ट्रम्पले देशको सुरक्षा दाउमा भएकाले आफूले त्यस विरुद्ध कानूनी उपचार खोज्ने बताए।

अस्वीकार

एउटा पुनरावेदन अदालतका न्यायाधीशहरुको तीन सदस्यीय इजलासले गत हप्ता राष्ट्रपति ट्रम्पको अध्यादेशका केही प्रावधानहरुलाई रोक्का गरिदिएका सियाटल शहरका न्यायाधीशको फैसलालाई उल्टाउन सर्वसम्मतिले अस्वीकार गरेका थिए।

सो फैसलाको केही समय पछि नै पत्रकारहरुसंग कुरा गर्दै राष्ट्रपति ट्रम्पले अन्त्यमा आफ्नो जीत हुने बताएका थिए।

उनले भने, "यो एउटा राजनीतिक निर्णय हो। हामी उनीहरुलाई अदालतमा भेट्ने छौं। हाम्रो देशको सुरक्षा दाउमा परेको अवस्था हो र यो निकै नै गम्भीर अवस्था हो।"

पुनरावेदन अदालतका न्यायाधीशहरुले अमेरिकी राष्ट्रपतिसंग आप्रवासबारे नीति बनाउने एकछत्र अधिकार रहेको स्वीकार गरेका छन्, तर राष्ट्रपतिको आदेश संविधान सम्मत छ कि छैन भनेर अदालतहरुले समीक्षा गर्न सक्ने पनि बताएका छन्।

राष्ट्रपतिको अध्यादेशले एउटा निश्चित धार्मिक समुदाय, मुसलमानहरु, लाई निशाना बनाएर संविधानको उलंघन गरेको छ कि छैन भन्ने विषयमा न्यायाधीशहरुबीच विमर्श भएको थियो, तर त्यस विषयमा तिनीहरु कुनै निष्कर्षमा भने पुगेनन्।

फैसला

पहिलोपल्ट मुद्दा अघि बढाएका वाशिंगटन राज्यका महान्यायाधिवक्ता बब फरगुशनले पछिल्लो फैसलाको स्वागत गरे।

उनले भने, "खास कुरा के हो भने यो वाशिंगटन राज्यको लागि पूर्ण जीत हो। हामीले जे खोजेका थियौं पुनरावेदन अदालतले एकमतले त्यो प्रदान गरेको छ। हामी कानुनी राज्य भएको देशका वासिन्दा हौं र मैले पहिले देखि नै भन्दै आएको कुरा के हो भने कानुन सबैलाई बराबरी लाग्नु पर्छ, राष्ट्रपतिलाई समेत।"

सम्वाददाताहरु भन्छन्, अब पुनरावेदन अदालतको फैसला सर्वोच्च अदालतमा पुग्नेछ।

फैसला लगत्तै ट्वीटर सन्देश मार्फत ट्रम्पले "देशको सुरक्षाको सवाल छ, तिमीहरुलाई अदालतमा भेटौंला" भनेका थिए।

अवरोध

तस्वीर कपीराइट AP

राष्ट्रपति ट्रम्पको संक्रमणकालिन टोलीकी एकजना सल्लाहकार बेट्सी मक्कघीले बीबीसीसंग कुरा गर्दै अदालतको निर्णय राष्ट्रपतिका लागि अस्थायी अवरोध मात्रै भएको बताइन्।

अब यो मुद्दा सर्वोच्च अदालतमा जाने र त्यहां राष्ट्रपतिको पक्षमा फैसला हुने उनले दावी गरिन्।

उनले भनिन्, "यो विषयमा कानून एकदमै स्पष्ट छ, कालो र सेतो जत्तिकै। कि राष्ट्रपति ट्रम्पले अध्यादेश मार्फत जुन प्रतिबन्ध लागू गराउन खोजेका छन् त्यसो गर्ने अधिकार सहितको राष्ट्रपतीय कार्यकारी अख्तियार उनलाई प्राप्त छ। यो विवाद पक्कै पनि सर्वोच्च अदालतमा पुग्नेछ। र मलाई लाग्छ सर्वोच्च अदालतले आठका विरुद्ध शून्य मतका साथ राष्ट्रपतिको पक्षमा फैसला दिनेछ।"

पुनरावेदन अदालतको फैसलाको अर्थ अमेरिकाको प्रवेशाज्ञा भएका इरान, इराक, लिबीया, सोमालिया, सुडान, सिरिया र यमनका मानिसहरु अमेरिका छिर्न पाउने छन्।

साथसाथै, अस्थायी प्रवेश प्रतिबन्ध लागेका संसार भरिबाट आउन चाहने शरणार्थीहरुमाथि पनि अवरोध हुने छैन।