५४ वर्षको पर्खाइपछि चीनमा

  • 11 फेब्रुअरी 2017
चीन

भारतमा ५४ वर्षदेखि फसिरहेका एकजना चिनियाँ पूर्व सैनिकले अन्तत: आफ्नो देश फर्किएर परिवारलाई भेटेका छन्।

बीबीसीले ती चिनियाँ वांग छी सेनाको सर्वेक्षक हुँदा बाटो बिराएर सन् १९६३ मा भारतमा प्रवेश गरेपछि कसरी आवश्यक कागजपत्रको अभावमा स्वदेश फर्कन पाइरहेका थिएनन् भन्नेबारे समाचार प्रकाशित गरेको थियो।

त्यसपछि चिनियाँ कूटनीतिज्ञहरुले उनलाई सम्पर्क गरी आफ्नो देश गई परिवारलाई भेट्न सघाउने बताएका थिए।

बेइजिङमा विमानबाट ओर्लिएपछि उनले आफ्ना परिवारका सदस्यलाई भेटेका थिए।

किनमेल

अब उनी त्यहाँबाट आफ्नो गृहनगर शियानयांग जानेछन्।

आफ्ना छोरालाई लिएर उनी शुक्रबार दिल्लीबाट चीनतर्फ उडेका थिए।

दिल्लीस्थित चिनियाँ दूतावासका अधिकारीहरुले त्यसअघि उनलाई दिल्लीको एउटा व्यापारिक केन्द्रमा किनमेल गराएका थिए।

भारतको विदेश मन्त्रालयले त्यसअघि नै उनलाई देश फर्कन अनुमति दिएको थियो।

उनको परिवारका सदस्यहरुलाई पनि चीन जाने चाहना भए प्रयोग गर्न मिल्ने भारतीय राहदानी उपलब्ध गराइएको थियो।

तर भारतीय नागरिक रहेकी उनकी श्रीमती भने वांगसँगै चीन गएकी छैनन्।

चीन जानुअघि बीबीसीसँग कुरा गर्दै वांगले आफ्नो जन्मभूमि हेरेर भारत नै फर्केर आउने बताएका थिए।

अनुमति

चिनियाँ राहदानीमा यात्रा गरिरहेका उनले भारत सरकारले आफूलाई आउने र जाने दुवै अनुमति दिएको जानकारी दिए।

सडक बनाउने काममा खटिएका वांग सन् १९६३ को ज्यानुअरीमा झुक्किएर भारतीय क्षेत्रमा आइपुगेका थिए।

थकान र भोकले गलेको अवस्थामा त्यसबेला रेडक्रसको गाडीले आफूलाई उद्दार गरी भारतीय सेनालाई बुझाइदिएको उनको भनाई छ।

सन् १९६९ मा भारतीय अदालतले रिहाईको आदेश दिनुअघि उनलाई थुनुवाका रुपमा विभिन्न जेलमा राखिएको थियो।

त्यसपछि मध्य प्रदेशको दुर्गम गाउँ तिरोडीमा लगेर प्रहरीले उनलाई छाडिदिएको थियो।

त्यसयता उनलाई भारत छाड्न अनुमति दिइएको थिएन्।