'चुनाव गराउन प्रहरी प्रमुखमा चन्द'

  • 12 फेब्रुअरी 2017
सुरेन्द्रकुमार कार्की तस्वीर कपीराइट MOIC

सरकारका प्रवक्ताले नेपाल प्रहरीको नयाँ महानिरीक्षकमा जयबहादुर चन्दलाई नियुक्त गर्ने निर्णय राजनीतिक सहमतिका आधारमा भएको बताएका छन्।

मन्त्रिपरिषदको बैठकले गृहमन्त्रालयको प्रस्तावमा आइतबार बिहान प्रहरी नायब महानिरीक्षक चन्दलाई नेपाल प्रहरीको प्रमुखमा नियुक्त गरेको थियो।

साथै सशस्त्र प्रहरी तर्फ प्रमुखमा दाबेदारहरुमध्येका वरिष्ठ सिंहबहादुर श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको छ।

दुवै प्रहरी संगठनका प्रमुख ज्येष्ठताका आधारमा नियुक्त गर्न सरकारमाथि दवाव पर्दै आएको थियो।

बचाउ

नेपाल प्रहरीको प्रमुखको दौडमा अन्य तीन प्रहरी नायब महानिरीक्षकहरु नवराज सिलवाल, प्रकाश अर्याल र बम बहादुर भण्डारी पनि थिए।

मन्त्रिपरिषदले नियुक्त गरेका चन्द चार दाबेदारहरु मध्ये वरिष्ठताका आधारमा तेश्रो स्थानमा थिए।

सरकारका प्रवक्ता सूचना तथा सञ्चार मन्त्रि सुरेन्द्रकुमार कार्कीले वरिष्ठताका आधारमा भन्दा पनि राजनीतिक हिसाबमा चन्दलाई नियुक्त गरिएको बताए।

बीबीसीसँग उनले भने, "प्रहरी प्रमुखमा नियुक्त गर्ने भन्ने निर्णय प्रशासनिक भन्दा पनि राजनीतिक आधारमा हुँदोरहेछ। अहिलेको संयुक्त सरकार र चुनाव गराउनै पर्ने अवस्थालाई मध्यनजर गरेर मन्त्रिपरिषदले यो निर्णय गरेको हो।"

तस्वीर कपीराइट facebook

विवाद

सत्तारुढ गठबन्धन भित्रको विवादका माझ नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्यालले अवकाश पाउनु एकदिन अघि गृहमन्त्रालयको प्रस्तावमा चन्द प्रहरी प्रमुख नियुक्त भएका हुन्।

सुदूरपश्चिम क्षेत्रका चन्दलाई प्रहरी प्रमुखमा नियुक्त गर्न सत्ता साझेदार नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकार र आफ्नै दलका गृहमन्त्रीलाई दबाब दिएको विवरणहरु प्रकाशमा आएका थिए।

तस्वीर कपीराइट facebook

विगतमा ज्येष्ठतालाई मिचेर गरिएका प्रहरी प्रमुखहरुको नियुक्ति विवादित रहने गरेका थिए।

मन्त्रिपरिषदको आइतबारको बैठकले सशस्त्र प्रहरी बलका महानिरीक्षकमा वरिष्ठताको आधारमा एक नम्बरमा रहेका नायब महानिरीक्षक सिंहबहादुर श्रेष्ठलाई नियुक्त गरेको छ।

चन्द र सिंह दुवैले मंगलबारबाट आफ्नो संगठनको जिम्मेवारी सम्हाल्ने गृहमन्त्रालयका प्रवक्ताले बताएका छन्।