‘रुसले चुनावमा हस्तक्षेपको प्रयास ग-यो’

  • 16 फेब्रुअरी 2017
पुटिन तस्वीर कपीराइट AP

संयुक्त राज्य अमेरिकाका रक्षामन्त्री जेम्स माटिसले रुसलाई कतिपय प्रजातान्त्रिक निर्वाचनहरुमा हस्तक्षेप गर्ने प्रयास गरेको आरोप लगाएका छन्।

ब्रसल्सस्थित नेटो मुख्यालयमा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री माटिसले मस्कोको संलग्नताका सम्बन्धमा कुनै आशंका नरहेको बताएका छन्।

उनले रुससँग सैनिक तहमा सहकार्य गर्ने अवस्थामा अमेरिका नरहेको पनि बताए।

रुसी विदेशमन्त्री सेर्गइ लाभ्रोभले अन्य देशको मामिलामा मस्कोले हस्तक्षेप गर्छ भन्ने आरोपको खण्डन गरेका छन्।

खारेज

लाभ्रोभले आफ्ना अमेरिकी समकक्षी रेक्स टिलरसनसँगको पहिलो भेटका क्रममा बोल्दै निर्वाचनमा हस्तक्षेप गर्ने गरेको भन्ने अमेरिकी आरोप खारेज गरेका थिए।

जर्मनीमा बोल्दै विदेशमन्त्री लाभ्रोभले भने, रुसले अन्य देशका घरेलु मामिलामा हस्तक्षेप गर्ने गर्दैन।

यसअघि मस्कोमा दिएको एक सम्बोधनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अब रुसी र अमेरिकी गुप्तचर निकायहरुले आतंकवादसँग लड्न आपसी सम्पर्कलाई पुनर्स्थापना गर्नुपर्ने बताएका थिए।

रुस, अमेरिका र नेटो राष्ट्रका गुप्तचर निकायहरुबीच पुन: कुराकानी हुन आरम्भ भएमा त्यो सबैको हितमा हुने राष्ट्रपति पुटिनले बताएका थिए।

बारम्बार

उनले त्यस्तो कुराकानीको मार्ग बन्द हुनुमा रुसको कुनै दोष नभएको बताएका थिए।

ह्वाइट हाउमा डोनल्ड ट्रम्पको नियुक्तिसँगै अब रुस र अमेरिकाबीचको सम्बन्ध मुठभेडभन्दा पनि आपसी सहकार्यको हुनेमा रुसी नेताले विश्वास व्यक्त गरेका थिए।

राष्ट्रपति ट्रम्पले इस्लामिक स्टेट समूहलाई पराजित गर्न रुस र अमेरिकाले मिलेर काम गर्नुपर्नेमा बारम्बार जोड दिँदै आएका थिए।

तर रुससँग भएको भनिएको सम्बन्धका कारण ट्रम्प प्रशासन चर्को दबाबमा परिरहँदा राष्ट्रपति ट्रम्प मस्कोसँग सम्बन्ध सुधार गर्न कतिको हतारोमा छन् भन्ने स्पष्ट भएको छैन।

बीबीसीका मस्को संवाददाता स्टिभ रोजेनबर्ग भन्छन्, बिहीबार जर्मनीमा अमेरिकाका नयाँ विदेशमन्त्री रेक्सटिलरसन र उनका रुसी समकक्षी सेर्गेई लाभ्रोभबीच भएको पहिलो भेटपछि यसबारे नयां संकेतहरु देखिन सक्नेछन्।