पाकिस्तान हमलामा कम्तीमा ७० को मृत्यु

  • 16 फेब्रुअरी 2017
तस्वीर कपीराइट AFP
Image caption पाकिस्तानका सबैभन्दा प्रसिद्ध सूफी धार्मिकस्थलहरुमध्ये एकमा हमला गरिएको हो

पाकिस्तानको सिन्ध प्रान्तस्थित एक सूफी समाधिस्थलमा गरिएको एक आत्मघाती बम हमलामा कम्तीमा ७० जनाको ज्यान गएको अधिकारीहरुले जनाएका छन्।

स्थानीय सन्चार माध्यमहरुले झण्डै एकसय जना अन्य घाइते भएको जनाएका छन्।

पाकिस्तानका सबैभन्दा प्रसिद्ध सूफी धार्मिकस्थलहरुमध्ये एक सहवानस्थित सन्त लाल शाहबाज कलन्दरको समाधिस्थलमा सो हमला गरिएको थियो।

प्रत्यक्षदर्शीहरुले बिहीबार बेलुका उक्त समाधिस्थलनमा भक्तजनहरुको भीड लागेका बेला सो हमला गरिएको बताएका छन्।

भागदौड

विष्फोट पछि त्यहाँ भागदौड मच्चिएको थियो।

त्यसक्षेत्रमा केवल एउटा सानो अस्पताल रहेको र चिकित्सकहरुले घाइतेहरुको उपचार गर्न प्रयास गरिरहेको बताइएको छ।

हताहतिको संख्या अरु बढ्न सक्ने आशँका गरिएको छ।

आफुलाई इस्लामिक स्टेट भन्ने एक संगठनले सो हमलाको जिम्मा लिएको छ।

निन्दा

पाकिस्तानका प्रधानमन्त्री नवाज शरीफले सो हमलाको निन्दा गरेका छन्

पाकिस्तानमा केही समय यता लगातार उग्रवादी हमलाहरु गरिँदै आएका छन्।

गत सोमबार लाहोर शहरमा गरिएको एक बम हमलामा वरिष्ठ प्रहरी अधिकारीहरु सहित कम्तीमा १३ जनाको ज्यान गएको थियो भने असीजना भन्दा बढी घाइते भएका थिए।

पन्जाब प्रान्तीय विधानसभा बाहिर सैयौं मानिसहरुले विरोध जनाइरहेका बेला उक्त विष्फोट गराइएको थियो।

तालिबानको एक गुटले सो हमलाको जिम्मा लिएको थियो।