ट्रम्पद्वारा सञ्चारमाध्यमको चर्को आलोचना

  • 17 फेब्रुअरी 2017
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प तस्वीर कपीराइट Getty Images

आफ्नो कार्यकालको सुरुवाती हप्ताहरुको समीक्षा गर्न आयोजना गरिएको पत्रकार सम्मेलनका क्रममा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो बचाउ गर्दै सञ्चारमाध्यमको चर्को आलोचना गरेका छन्।

ह्वाइट हाउसमा भएको पत्रकार सम्मेलनमा उनले आफ्नो सरकारभित्र अराजकता देखिएको भन्ने आरोप अस्वीकार गर्दै बरु सञ्चारमाध्यमले बेइमानी गरेको आरोप लगाए।

मुसलमान बहुल सात देशका मानिसहरुमाथि लगाइएको विवादस्पद प्रतिबन्धलाई कायम राख्न अर्को साता संशोधित निर्णय आउने पनि उनले बताए।

टिप्पणी

ट्रम्पले आफ्नो चुनावी अभियानका क्रममा मस्कोसँगको सम्पर्कबारे सञ्चारमाध्यमले प्रशारण गरेका समाचारहरु उल्लेख गर्दै आक्रामक रुपमा प्रस्तुत भएका हुन्।

उनले लगाएको यात्रा प्रतिबन्ध र एकजना उच्च तहका सल्लाहकारलाई पदबाट हटाउनुलाई आलोचकहरुले ह्वाइट हाउसमा देखिएको भद्रगोल भनि टिप्पणी गरिरहेका छन्।

उनले भने, "यात्रा प्रतिबन्धबारे हाम्रो निर्णय धेरै सहज रुपमा अघि बढिरहेकको थियो। तर हाम्रो अदालत खराब छ र निर्णय पनि खराब भयो। तर अर्को साता कुनै बेला हामी नयाँ यात्रा प्रतिबन्धबारे नयाँ कार्यकारी आदेश ल्याउनेछौं।"

७६ मिनेट लामो पत्रकार सम्मेलनका क्रममा उनले पत्रकारहरुको बेइमानीको स्तर नियन्त्रण भन्दा बाहिर गएको बताए।

तस्वीर कपीराइट Getty Images

सफलता

तर राष्ट्रपतिले पत्रकार सम्मेलनमा बोल्दै आफूले आफ्नो चुनावी अभियानका क्रममा गरेका बाचाहरु पूरा गरेको र पहिलो साता आफ्नो प्रशासनले एकदमै सहज रुपमा काम गरेको बताए।

उनले सेयर बजार उकालो लागेको र अवैधानिक रुपमा छिर्ने आप्रवासीहरुलाई नियन्त्रण गर्न सकेको विषयलाई आफ्नो प्रशासनको महत्वपूर्ण सफलताका रुपमा प्रस्तुत गरे।

आफ्ना राष्ट्रिय सुरक्षा सल्लाहकार पदबाट हट्न बाध्य भएको र आफूले सिफारिस गरेका श्रम मन्त्रीले मनोनयन फिर्ता लिएको अवस्थामा ह्वाइट हाउसमा यो पत्रकार सम्मेलन भएको हो।

राष्ट्रिय सुरक्षा सल्लाहकारमा माइकल फ्लिनले ट्रम्पले पदभार सम्हाल्नु अघि नै रुसी राजदूतसँग अमेरिकाले रुसमाथि लगाएकf प्रतिबन्धबारे छलफल गरेको खबरहरु बाहिर आएपछि उनले गत बुधबार राजीनामा दिएका थिए।