उग्रवादी सुम्पन अफगानिस्तानसंग माग

  • 17 फेब्रुअरी 2017
तस्वीर कपीराइट Reuters

पाकिस्तानी सेनाले सिन्ध प्रान्तको एउटा सुफी धार्मिकस्थलमा ८० जनाको ज्यान जाने गरी भएको आत्मघाती हमलापछि अफगानिस्तानसँग त्यहाँ रहेका ७६ जना चर्चित उग्रवादीहरुलई हस्तान्तरण गर्न भनेको छ।

पाकिस्तानका अनुसार ती उग्रवादीहरुले सिमापारीबाट हमलाहरु गरिरहेका छन्।

पाकिस्तानी सेनाले यस विषयमा तत्काल कदम चाल्न अफगानिस्तानलाई भनेको छ।

सो सुफी धार्मिकस्थलमा भएको आत्मघाती बम हमलामा धेरैको ज्यान गएपछि एउटा ठूलो स्तरको सुरक्षा कारवाही थालिएको छ।

कारवाही

देशव्यापी कारवाहीमा झण्डै ३५ जना उग्रवादीहरु मारिएका र दर्जनौंलाई नियन्त्रणमा लिइएको अधिकारीहरुले बताएका छन्।

पाकिस्तानको सिन्ध प्रान्तस्थित लाल शाहबाज कलन्दर धार्मिकस्थलमा भएको आक्रमणको जिम्मेवारी इस्लामिक स्टेट समूहले दावी गरेको थियो।

हमला भएको उक्त प्रसिद्ध सुफी समाधिस्थलमा आक्रोशित विरोध प्रदर्शनकारीहरु भेला भएका थिए।

लाठी बोकेको भीडले प्रहरीको एउटा सवारीसाधनमा आगो समेत लगाइदिएको थियो।

स्वीकार

त्यहाँ शुक्रबारको प्रार्थनका लागि आएका एकजना श्रद्धालुले भने, "आज हामी शुक्रबारको प्रार्थनाका लागि भेला भएका छौँ। हामी यहाँ आज पनि आएका छौं, भोलि पनि आउनेछौँ। हामी ती हमलाकारीहरुसँग डराएका छैनौँ।"

बिहीबारको हमलामा मारिएका एकजनाका नातेदारले सो समाधिस्थलमा थप सुरक्षा व्यवस्थाको माग गरिएकोमा अधिकारीहरुले त्यसलाई बेवास्ता गरेका आरोप लगाएका छन्।

समाधिस्थलमा सुरक्षा कमजोरी रहेको अधिकारीहरुले स्वीकार गरेका छन्।

यसैबीच प्रधानमन्त्री नवाज शरीफले पाकिस्तानले आफ्नो पहिचानको अस्तित्वका लागि युद्ध गरिरहेको जनाएका छन्।