संशोधन र चुनावी प्रक्रिया सँगैः प्रधानमन्त्री

  • 17 फेब्रुअरी 2017
राप्रपा

प्रधानमन्त्री प्रचण्डले संसद्‍मा रोकिएको संविधान संशोधन र स्थानीय तहको चुनाव सँगसँगै अघि बढाउने बताएका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनलाई शुभकामना दिने क्रममा प्रचण्डले चुनावको मिति छिट्टै घोषणा गर्ने बताउँदै राप्रपाले साथ दिने विश्वास व्यक्त गरे।

संशोधनको पक्ष र विपक्षमा उभिएका सत्ता र प्रतिपक्षका दलका अन्य शीर्षस्थ नेताले पनि आ-आफ्नो अडानमा साथ दिन राप्रपालाई आग्रह गरेका थिए।

पूर्वपञ्चको बाहुल्यता रहेको राप्रपाको एकीकरणपछिको महाधिवेशनको उद्घाटनसभामा विपरीत धारमा उभिएका सबै जसो ठूला-साना पार्टीका नेताको जमघट थियो।

'मिलौँ-मिलौँ'

खासगरी अहिलेका दुई जल्दोबल्दा विषय संविधान संशोधन र स्थानीय चुनावबारे प्रधानमन्त्री प्रचण्डको ताजा धारणाप्रति धेरैको चासो देखिथ्यो।

त्यसबारे प्रधानमन्त्रीले भनाई थियो, "संशोधन विधेयक र स्थानीय निर्वाचनको प्रक्रिया सरकारले सँगसँगै अगाडि बढाउने सोचेको छ।"

अधिकतम रुपमा संविधानको स्वीकार्यता बढाउन संशोधन जरुरी रहेकोमा जोड दिएका उनले संविधान कार्यान्वयनको निम्ति निर्वाचन निर्विकल्प रहेको मत राखे।

माओवादी विद्रोहको उद्गमथलो मानिने रोल्पामा आयोजित कार्यक्रममा सरिक भएर राप्रपाको कार्यक्रममा पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका उनले भने, "तपाईहरुसँग दार्शनिक रुपले, वैचारिक रुपले, राजनीतिक रुपले कैयौं मतभेद पनि छन्। तर किन-किन राप्रपा भनेपछि नजिक-नजिक लाग्छ, मिलौँ-मिलौँ जस्तो लाग्छ, कता हो कता भावनाले छुन्छ, सहकार्य गरौँ-गरौँ लाग्छ, टाढा नजानु होला।"

संसद्को गणित

एमालेसँगै संशोधनको विपक्षमा केही साना दल पनि छन्।

तीमध्ये केही र राप्रपाको साथ पाएमा संशोधन पारित गराउन सकिने आशा सत्तापक्षमा देखिन्छ।

प्रचण्डसँग सत्तासाझेदारी गरिरहेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि संशोधनमा राप्रपाको साथ पाउने आशा व्यक्त गरेका थिए।

संविधानमा आवश्यकता अनुसार परिमार्जन गर्न सकिने बताएपनि एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिलेको प्रस्तावमा साथ दिन नसकिने दोहर्याए।

उनको भनाई थियो, "राप्रपाले पनि त्यस्तो कुरा मान्नु हुँदैन। त्यस्ता कुरालाई मान्दैन भन्ने मेरो विश्वास छ। देशको हितविरुद्ध छ त्यो प्रस्ताव, जनताको भावनाको विरुद्धमा छ त्यो प्रस्ताव। त्यसकारण त्यो पारित हुँदैन। म त्यति घोषणा गर्दछु।"

मिलन बिन्दु

सबै ठूला दलका नेताले धारणा व्यक्त गरेपछि राप्रपाका केन्द्रीय अध्यक्ष कमल थापाले अन्त्यमा मन्तव्य व्यक्त गरेका थिए।

उनीहरुका आ-आफ्नै अपेक्षाका माझ सरकारको राप्रपाका अध्यक्ष थापाले भने, "राष्ट्रिय हित अनुकूल नभएको कारणले यथास्थितिमा त्यो संशोधनको पक्षमा हामी मतदान गर्न सक्ने अवस्था छैन। तर नयाँ ढंगबाट समझदारी कायम गरेर मधेशको समस्या समाधान गर्नुपर्छ र त्यो गर्नका निम्ति हाम्रो पार्टीले सहयोग गर्नेछ भन्ने कुरा म यहाँ निवेदन गर्न चाहन्छु।"

उनले राजा सहितको लोकतान्त्रिक व्यवस्थालाई मिलन बिन्दु बनाउन प्रमुख दल खासगरी माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सामू प्रस्ताव समेत राखेका थिए।