मोसुलमा आइएसविरुद्ध कारवाही शुरु

  • 19 फेब्रुअरी 2017
हवाई

तथाकथित इस्लामिक स्टेट लडाकुको नियन्त्रणबाट मोसुल शहरको पश्चिमी भू-भाग मुक्त गराउन एउटा महत्वपूर्ण कारवाही थालिएको इराकी फौजले जनाएको छ।

हवाई कारवाहीको साथ पाएका सैयौंको संख्यामा बख्तरबन्द गाडी तथा हजारौं मानिसहरु शनिबार बिहानै आइएसको अखडातर्फ लागेका थिए।

कारवाही शुरु गरिएको केही घण्टामै दक्षिणी मोसुलका थुप्रै गाउँहरुलाई आइएसको कब्जाबाट मुक्त गराइएको अधिकारीहरुले बताएका छन्।

यसअघि इराकी प्रधानमन्त्री हैदर अल-अबादीले कारवाही गर्न लागिएको औपचारिक घोषणा गरेका थिए।

उद्देश्य

सुरक्षा कारवाहीको प्राथमिक उद्देश्य मोसुल विमानस्थललाई पुनः सरकारी कब्जामा ल्याउनु रहेको छ।

मोसुल विमानस्थलदेखि दक्षिणमा रहेका अस्बाह र अल-लज्जागाह गाउँलाई सरकारी फौजले नियन्त्रणमुक्त गराएको सेनाका एकजना उच्च अधिकारी अब्दुलआमिर याराल्लाहद्वारा जारी एउटा विज्ञप्तिमा उल्लेख छ।

कैयौं हप्ता लामो संघर्षपछि सेनाले गत महिना मोसुलको पूर्वी क्षेत्रलाई आइएस लडाकुको नियन्त्रणबाट मुक्त गराएको थियो।

तर सैनिक अधिकारीहरु भन्छन्, सांघुरो तथा घुमाउरा सडकहरुका कारण अहिलेको कारवाही चुनौतीपूर्ण हुन सक्छ।

कठिन

एउटा विज्ञप्तिमा अमेरिकी नेतृत्वको गठबन्धनका एकजना सैनिक अधिकारी स्टेफेन टाउनसेन्डले भने, "मोसुलको लडाइँ विश्वको कुनैपनि सैनिकका निम्ति कठिन लडाइँ हुनेछ।"

सुरक्षा फौजसँगै रहेका एकजना बीबीसी संवाददाताका अनुसार मोसुलका दक्षिणी गाउँहरु मुक्त गराउने क्रममा सुरक्षाकर्मीले कैयौं संख्यामा आइएसका कारबमहरु निष्क्रिय पारेका थिए।

सुरक्षा कारवाही थालिएको क्षेत्रमा साढे ६ लाख मानिसहरु रहेको विवरणहरुमाझ संयुक्त राष्ट्रसंघले सर्वसाधारणबारे चिन्ता व्यक्त गरेको छ।

आइतबार बालबालिकाको हितका लागि काम गने संस्था, सेभ द चिल्ड्रेन, ले उक्त क्षेत्रमा साढे ३ लाख बच्चाहरु फसेको हुन सक्ने बताएको छ।

इराकका लागि सेभ द चिल्ड्रेनका निर्देशकले भने, "पश्चिमी मोसुलमा बच्चाहरुका लागि अहिले अप्रिय विकल्प छन्: त्यहीँ बसेमा बम, गोली हानाहान र भोकमरीको सामना गर्नुपर्ने हुन्छ, भाग्न चाहेमा कि ज्यान जान्छ कि गोली लाग्छ।"